२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोलभेँडा किसानलाई केजीको २० रुपैयाँपनि दिँदैनन्, धेरै फल्दा खुशी भन्दापनि मूल्य नपाउँदा दुःखी

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहाँले मात्र होइन यो वडाका १ सय ५० परिवारले त्यही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ । बिक्री भए पनि उनीहरुले उचित मूल्य भने पाउन सकेका छैनन् ।

वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारुपमा र चार सय रोपनी जतिमा टनेलमा गोलभेँडा उत्पादन गरिएको छ । यो वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेँडा उत्पादन भएको गोलभेँडा सङ्कलन केन्द्रका नुजराज कार्कीले जानकारी दिनुभयो । उत्पादन पर्याप्त मात्रामा भएको छ, तर कृषकले चाहेको जस्तो मूल्य पाएका छैनन्, उहाँले भन्नुभयो, हामीसँग चिस्यान केन्द्र पनि छैन । भण्डारण गरेर राख्न सक्ने अवस्था छैन ।ु

कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेँडा सङ्कलन गर्ने गरेको छ । चिस्यान केन्द्र नहुँदा गोलभेँडा भण्डारण गरेर राख्ने र पछि उचित मूल्य पाएपछि बिक्री गर्ने अवस्था छैन । कृषक पुष्पराज खड्का गोलभेँडा उत्पादन भएकामा जति खुशी हुनुहुन्छ त्यो भन्दा बढी उचित मूल्य नपाएकोमा दुःखी हुनुहुन्छ । प्रतिकिलो गोलभेँडा २० रुपैयाँमा बिक्री गर्नुपरिरहेको छ, उहाँले भन्नुभयो, राखौँ बिग्रेर जान्छ, सस्तोमा दिए लगानी पनि उठ्ने अवस्था छैन ।

कार्कीका अनुसार यो वडाको गोलभेँडा ओखलढुङ्गा, सोलुखुम्बु, जिल्लाकै कटारी बजार, गाईघाट, सिन्धुलीको दुधौली र सिरहाको गोलबजारसम्म लगेर बिक्री गर्ने गरिएको छ । उत्पादन धेरै भएपछि बेच्न धनकुटासम्म पठायौँ, कार्कीले भन्नुभयो, केन्द्रले प्रतिकिलो तीन रुपैयाँ राखेर कृषकलाई दिँदा कृषकले मुश्किलले किलोको ३० रुपैयाँसम्म पाउँछन् । उत्पादन धेरै भए पनि यहाँबाट किनेर लैजाने व्यापारीले गोलभेँडाको उचित मूल्य नदिँदा कृषक मारमा परेका छन् । नगरपालिकाकै वडा नम्बर ३ र ४ मा रहेको बजारमा गोलभेँडा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ । व्यापारीले हामीलाई ३० रुपैयाँभन्दा बढी दिँदैनन्, उहाँले भन्नुभयो, कृषकले लगानी अनुसारको मूल्य पाएका छैनन् ।

वडाध्यक्ष हायुका अनुसार वडाको गोठडाँडा, काफलडाँडा, खोल्मेचौर, लप्से, आम्बोटेलगायत गाउँमा गोलभेँडा पर्याप्त मात्रामा उत्पादन भएको छ । यसअघि अदुवा, काउली र डल्ले खुर्सानी उत्पादन गरेका कृषकले दुई वर्षयता गोलभेँडा खेतीलाई प्राथमिकता दिँदै आएका छन् । उत्पादन बढ्दै गए पनि कृषकले बजारसम्म गोलभेँडा पुर्याउन सकेका छैनन् । वडाले कृषकको समस्यालाई नगरपालिकासामु राखेको वडाध्यक्ष हायुले बताउनुभयो । बजारमा भारतबाट आयात गरिएको गोलभेँडा सस्तोमा बिक्री भएका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको हो । स्थानीय उत्पादन बजारीकरण गर्न तथा भण्डारण गर्न नगरपालिकाले सहयोग गर्नुपर्ने कृषकको माग छ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस