
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । राष्ट्रियसभा गृहस्थित उहाँको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको उहाँका स्वकीय सचिव भूपदेश साहले जानकारी दिनुभयो । बालेन साह यतिबेला भारतको बैंगलोरमा हुनुहुन्छ । उहाँको निर्देशनमा सचिवालयले ग्रेटर नेपालको नक्सा राखेको स्वकीय सचिव साहले बताउनुभयो ।
‘नेपालको गर्विलो इतिहास छ । त्यो इतिहास झल्काउने नक्सा राखिएको हो । मेयर सापकै निर्देशनमा राखेका हौं ।’ स्वकीय सचिव साहले भन्नुभयो । भारतले आफ्नो संसदमा ग्रेटर इण्डियाको नक्सा राखेको छ । त्यसमा नेपालका लुम्बिनी र कपिलवस्तु समेत समेटिएका छन् । भारतको उक्त कदमको नेपालमा चर्को विरोध भइरहेको छ ।
आम सर्वसाधारणको तर्फबाट भारतको उक्त कदमको विरोध भइरहेका बेला मेयरा बालेन साहको कार्यकक्षमा भने ग्रेटर नेपालको नक्सा राखिएको हो । उक्त नक्सामा सुगौली सन्धि हुनु अघिको नेपाली भूभाग समेटिएका छन् । नेपालको इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले उक्त नक्सा राख्न लगाउनुभएको स्रोतको दावी छ । नेपाली संसद बैठकमा नै ग्रेटर नेपालको नक्सा राख्ने आँट कसैसँग छ भनेर प्रश्न गरिएको थियो । मेयर साहले आफ्नै कार्यकक्षमा राखेर देखाउनुभएको छ ।