२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुई जलविद्युत आयोजना प्रचण्डले कौडीको भाउमा भारतलाई बुझाए : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई दुईवटा जलविद्युत आयोजना कौडीको भाउमा दिएको टिप्पणी गर्नुभएको छ ।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सस्ता आयोजनाहरु तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा व्यापार गर्ने समझदारी भएको थियो । जस अनुसार १० वर्षमा १० हजार मेगावाट विजुली भारतले खरिद गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको थियो ।

त्यस्तै नेपालको तल्लो अरुण र फुकोट कर्णाली आयोजना भारतीय कम्पनीले निर्माण गर्ने सम्झौता पनि भएको थियो । उक्त सम्झौताप्रति टिप्पणी गर्दै ओलीले भन्नुभयो, ‘दुईटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनुभएको छ । मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । ‘४८० मेगावाट कुदेको नदीबाट विद्युत निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ मैले निर्णय गरेको थिए । यो त अहिले त किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो, प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ ?’

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा देशहितको पक्षमा चुइक्क बोल्न पनि नसकेको ओलीले बताउनुभयो । ‘यस्ता यस्ता सरकार बनेका छन । जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन । जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन । विदेश भ्रमणमा जान्छ, एउटा मित्र राष्ट्रको भ्रमणमा जान्छ । मित्रसँग आफ्ना पिरमर्काका कुरा पनि गर्न सक्दैन । मलाई यस्तो पर्‍यो पनि भन्न सक्दैन । यस्ता नालायक सरकारहरु बन्नु भएको देशको दुर्भाग्य हो’ ओलीले भन्नुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस