२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारत–पाकिस्तानसँग नेपालले खेल्ने एसिया कप क्रिकेटमा हाइब्रिड मोडल अनुमोदन गर्ने एसीसीको तयारी

काठमाडौं । एसिया कप क्रिकेटका लागि पाकिस्तानले अघि सारेको हाइब्रिड मोडललाई एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने तयारी गरेको छ । विश्व विजेता भारत, पाकिस्तान सहितका देशसँग नेपाली क्रिकेट टोलीले खेल्न पाउँने सौभाग्यको रुपमा रहेको एसिया कप अनिश्चित भएका बेला एसीसीले खुशीको खबर दिएको हो ।

भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले भारतले खेल्ने खेलहरु पाकिस्तान बाहिर खेल्ने गरी हाइब्रिड मोडल अघि सारेको छ । यो मोडलमा एसीसीले सहमति दिने सम्भावना रहेको क्रिकेट सम्बन्धी अनलाइन क्रिक इन्फोले जनाएको छ ।

पीसीबीले भारतले खेल्ने खेल तटस्थ मैदानमा खेल्न पाउने जनाएको छ । तटस्थ मैदानमा हुने खेल आफ्नो मैदानमा गर्ने श्रीलङ्काले जनाएको छ । एसिया कपका ४ वटा खेल भारतले पाकिस्तानको भूमि बाहिर खेल्ने सम्भावना छ, भारत फाइनलमा पुग्यो भने पाँच वटा खेल पाकिस्तान बाहिर हुनेछन् । तर भारतले भने हाइब्रिड मोडललाई अझै स्वीकृति दिएको छैन ।

भारतले पाकिस्तानमा हुने एसिया कप बहिष्कार गरेमा आफूहरु पनि भारतमा हुने एकदिवसीय विश्व कपमा सहभागी नहुने पाकिस्तानले चेतावनी दिइसकेको छ । यदि पाकिस्तानले अहिले अघि सारेको हाइब्रिड मोडलमा भारतले सहमति जनाएमा आउँदो नोभेम्बरमा हुने विश्व कपमा पाकिस्तानको भारत यात्रा पनि सहज बन्नेछ ।

एसिया कप क्रिकेट आउँदो सेप्टेम्बरमा हुनेछ । नेपाल पनि एसिया कप क्रिकेटमा छनोट भएको छ । नेपाल, भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान गरी ६ वटा टोलीले एसिया कप खेल्नेछन् । नेपाल रहेको समूहमा भारत र पाकिस्तान रहेका छन् ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस