२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पानी पार्न चितवनमा ‘हरहर महादेव’ र्‍याली, स्याङ्जामा भ्यागुताको बिहे: आकाश गर्जियो पानी परेन

चितवन । लामो समयदेखि खडेरी परेपछि चितवनको नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका छन् । उनीहरूले गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन् ।

कार्यक्रमका संयोजक मनोज घिमिरेका अनुसार मन्दिरमा पूजा गरेर बाजागाजासहित नारायणगढ बजार परिक्रममा गरिएको हो । लामो समयदेखि पानी नपर्दा जनजीवन प्रभावित बन्दै गएपछि यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

हरहर महादेवको पूजा गरेपछि पानी पर्ने विश्वासका साथ पूजा गरी बाजागाजासहित बजार परिक्रममा गरिएको हो । युवाहरूको समूहले बजारको परिक्रममा गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियो ।

यस्तै स्याङ्जाको वालिङमा असार लाग्न लाग्दा समेत पानी परेको छैन । किसानहरू मानो खाएर मुरी उब्जाउनका लागि खेतबारीमा हुने बेला हो । खेतमा धान रोप्न र बारीमा कोदो रोप्न बिउ राख्ने बेलामा लामो समय खडेरी परेको छ । केही किसानले धान तथा कोदोको बिउ राखिसकेका छन् । केहीले पानीकै अभावका कारण अझै पनि राख्न सकिरहेका छैनन् । खडेरीका कारण बिउसमेत राख्न नपाएका किसान चिन्तित त छँदैछन् । बिउ राखिसकेका किसान पनि बीउ जोगाउन चिन्तित देखिन्छन् ।

केही दिनयता तापक्रम बढ्दै जाँदा मकैका बोटहरू सुक्दै गएका छन् । किसानले व्यावसायिक तथा घरमै प्रयोग गर्न लगाएका तरकारी तथा अन्य बालीहरू सुक्दै गएका छन् । लामो समय पानी नपरेपछि पुर्खाहरूले गर्दै आएको भ्यागुताको बिहे गरी इन्द्रदेवसँग पानी माग गरिएको बेहुली पक्ष वालिङ–६ भरुवाका नारायणप्रसाद भण्डारीले बताउनुभयो ।

वालिङ–८ को ब्याङतुङबाट बेहुला पक्ष जन्तीसहित भरुवा पुगेर विधिपूर्वक भ्यागुताको बिहे गरिएको हो । ‘पहिले–पहिले लामो समयसम्म खडेरी पर्दा पुर्खाहरूले भ्यागुताको बिहे गर्थे’, उहाँले भन्नुभयो, ‘चार वर्षअघि पनि यस्तै खडेरीमा भ्यागुताको बिहे गरेका थियौँ, त्यस दिन पानी आएको पनि थियो, यस पटक आकाश त गर्जियो तर पानी परेन ।’

रूढिवादी परम्पराजस्तो देखिने भ्यागुताको बिहे पूरै विश्वास गर्न पनि नसकिने र कहीँकतै विश्वास पनि अडिएको आफूलाई लाग्ने गरेको उहाँ बताउनुहुन्छ । ब्याङतुङबाट भ्यागुतालाई डोलीमा राखेर जन्तीसहित बेहुली लिन गएको बेहुला पक्षका गोपालधन सुवेदीले बताउनुभयो । स्थानीयवासीको उपस्थितिमा विधिपूर्वक पूजापाठ गरी भ्यागुताको बिहे गरिएको सुवेदीले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस