२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा गोहीका २० बच्चा कोरलिए, ६३ अण्डाबाट ४९६ बच्चा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन् । केन्द्रको गुँड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट बीस वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती अण्डाबाट जेठ २४ गते ती बच्चा कोरलिएका हुन् । केन्द्रले वैशाख ८ गते राप्ती नदीको सीतामाइदेखि सौराहासम्म आठ वटा गुँडबाट २४२ वटा अण्डा संकलन गरेको थियो ।

ती अण्डा केन्द्रमा बच्चा जन्माउनका लागि राखिएको थियो । तीमध्ये २० वटा गोहीको बच्चा कोरलिएको तिवारीले जानकारी दिनुभयो । अन्य अण्डाबाट समेत बच्चा कोरल्ने प्रक्रिया भइरहेको उहाँले बताउनुभयो ।

प्रजनन् केन्द्रका तीन वटा गुँडमा गोहीले अण्डा पारेको छ । उहाँका अनुसार गत दुईवर्ष प्रजनन् केन्द्रका अण्डाबाट बच्चा कोरलिएको छैनन् । प्रजनन केन्द्रमा गोहीको संख्या बढी भएपछि यसवर्ष अण्डा थोरै मात्र संकलन गरिएको हो ।

गोही प्रजनन् केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार गत वर्ष पाँच ६३ वटा अण्डा संकलन गरिएको थियो । ती अण्डाबाट ४९६ बच्चा कोरलिएका थिए ।

यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ। अहिलेसम्म आइपुग्दा तीमध्ये ३०० को हाराहारीमा मात्रै जीवित छन् । मगरले प्रजनन् केन्द्रमा ६४० साना ठूला गोही रहेको भन्दै यसवर्ष थोरै मात्र अण्डा संकलन गरिएको बताउनुभयो ।

निकुञ्जले विसं २०३५ मा गोही प्रजनन् केन्द्र स्थापना गरी गोहीका बच्चा हुर्काएर नदीमा छाड्दै आएको छ । प्रजनन् केन्द्रमा हुर्काएर अहिलेसम्म एक हजार आठ सय ५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ । तीमध्ये सबैभन्दा बढी राप्तीमा एक हजार एक सय ३२ वटा गोही छाडिएको छ।

यस्तै नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ। पछिल्ला दिनमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ । नारायणी र राप्तीमा छाडिएका गोही पनि वर्षाको समयमा भारत पुग्ने र बाँधका कारण पुनः फर्किएर नआउने समस्या रहेको छ । नदी प्रदूषित हुँदै जानु, जथाभावी नदीजन्य पदार्थको उत्खनन् गर्नु, माछा मार्न ठूला जाल प्रयोग गर्नु जस्ता कारणले गोही संरक्षणमा समस्या भएको निकुञ्जको भनाइ छ । रासस

 

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस