२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रेस काउन्सिल अध्यक्ष बस्नेतको पक्षमा अन्तरिम आदेश, निराधार आरोपमा हैरानी नदिन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । आफूविरुद्ध तथ्यहीन आरोप र गलत उजुरी परेको भन्दै त्यसको आधारमा हुने कारवाही रोक्न माग गर्दै उहाँ निषेधाज्ञाको रिट निवेदन लिई अदालत जानुभएको थियो ।

त्यसमा भएको सुनुवाईपछि अदालतले उहाँको पक्षमा आदेश जारी गरेको हो । सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको र जिल्ला अदालतमा समेत मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै बस्नेतलाई अनावश्यक दुःख हैरानी दिने कार्य नगर्न समेत अन्तरिम आदेशमा भनिएको छ ।

फेसबुक ह्याक भएको विषयमा विवाद भएपछि साइबर ब्यूरोमा केही दिन अघि उजुरी परेको थियो । मेसेन्जर दुरुपयोग भई भएका कुराकानीलाई बढाइचढाई गरी उजुरी परेको र त्यसका आधारमा सञ्चार मन्त्रालयले समेत पत्र काटेपछि अदालतमा मुद्दा परेको थियो । प्रहरीले यसअघि नै उक्त उजुरीमा लिइएका दावीमा तथ्य, प्रमाण र आधार नदेखिएको जनाइसकेको थियो । त्यसलगत्तै उजुरीकर्ताले ब्यूरोबाट उक्त उजुरी फिर्ता गर्ने प्रक्रिया थालिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिपक खरेलको इजलासबाट त्यस्तो उजुरीका आधारमा गैरकानूनी कार्य अघि नबढाउन विपक्षी (सरकार) का नाममा आदेश जारी भएको हो । बस्नेतको तर्फबाट अधिवक्ताहरु अनन्तराज लुईटेल, विकास भट्टराई, प्रतिभा उप्रेती र विशाल उपाध्याय लगायतले बहस गर्नुभएको थियो । आफूले चलाउने फेसबुकमा केही दिन प्राविधिक समस्या भएको, सोही बीचमा भएका कल, मेसेजको बारेमा बस्नेतले प्रहरीको साइबर ब्यूरो र सार्वजनिक रुपमा समेत जानकारी गराइसक्नुभएको छ ।

बिना आधार र कारण व्यक्तिको चरित्रहत्या र मानमर्दन हुने गरी प्रचार प्रसार गर्ने, सामाजिक सञ्जालमा अपशब्द र गालीगलौज गर्नेविरुद्ध अध्यक्ष बस्नेत अदालत समेत पुग्नुभएको छ । केहीले यो प्रकरणमा माओवादी नेतृत्वको सरकारले अध्यक्ष बस्नेतलाई हटाउने प्रपञ्च रचेको र स्वतन्त्र र स्वायत्त निकाय काउन्सिलमाथिको षडयन्त्र र हस्तक्षेपका रुपमा लिएका छन् । अधिवक्ता हरि दाहालले बनावटी मुद्दा बनाएर काउन्सिल पदाधिकारीमाथि यो तहको आक्षेप लगाउनु आपत्तिजनक हो भन्दै विरोध गर्नुभयो । ‘राजनीतिक तहबाटै यस्तो हर्कत हुनु दूर्भाग्य हो’, उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस