
काठमाडौं । सन् २०२३ को सुरुवाती महिनामा सानदार प्रदर्शनपछि नेपालले जिम्बावेमा असार ३ देखि सुरू हुने आइसिसी क्रिकेट विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ। आइसिसी विश्वकप क्रिकेट लिग–२ को अंक तालिकामा नेपाली टिम गत फेब्रुअरीसम्म खराब स्थितिमा थियो। अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको नेपालको एकदिवसीय मान्यता समेत खतरामा परेको थियो।
तर फेब्रुअरीमा भारतका मोन्टी देसाई मुख्य प्रशिक्षक नियुक्त भएपछि भने नेपालले अद्भूत खेल देखायो। लिग–२ मा १२ खेल बाँकी थिए। १२ मध्ये कम्तिमा १० खेल जिते मात्र शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्ने समिकरण थियो। सबै खेल फाइनल जस्तै थिए । नेपाली टिमले कीर्तिपुरस्थित त्रिवि मैदानमा हजारौं समर्थकका अघि सानदार प्रदर्शन गर्यो। नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा ८ खेल र युएईमा ४ खेल खेल्ने तालिका थियो।
११ मध्ये १० जित निकाल्दै विश्वकप छनोट नजिक पुगेको नेपालले १२औं खेलमा युएईविरूद्ध डिएलएस मेथडमा जित निकाल्दै जिम्बावेको टिकट पक्का गर्यो। नेपालले युएईमा एक खेल हार्दा त्रिवि मैदानमा भने सबै ८ खेल जित्यो। यससँगै अहिले नेपाली टिम जिम्बावेमा छनोट प्रतियोगिता खेल्नका लागि पुगिसकेको छ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाली टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ शेख जिम्बावेमा राम्रो नतिजा ल्याउन केन्द्रीत हुने बताउँछन्। छनोट प्रतियोगितामा पुगेको कुरा अविश्वसनीय थियो, शेखले आइसिसीसँग कुरा गर्दै भनेका छन्, इमानदारीपूर्वक भन्नुपर्दा १२ मध्ये ११ खेल जित्नु अप्रत्याशित थियो। उनले अघि भने, यो एक टिमको प्रयास थियो, सबैले योगदान दिएका थिए। मलाई लाग्छ हामी क्रिकेटको साथ उत्कृष्ट यात्रामा छौं र हामी क्वालिफायरका लागि साँच्चै उत्साहित छौं। हामी लिग–२ मा पहिले खेलेका धेरै खेलहरूमा धेरै जित नजिक थिए र पछिल्ला खेलहरूमा वास्तवमै राम्रोसँग लड्यौं, यसले हामीलाई आत्मविश्वास दिएको छ।
विश्वकपमा छनोटमा स्थान बनाए लगत्तै नेपालले घरेलु मैदानमा एसिसी प्रिमियर कप जित्दै एसिया कपमा स्थान बनायो। नेपालले सेप्टम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्दैछ। मध्यक्रममा कप्तान रोहित पौडेलसँगै कुशल मल्ल र भीम सार्की रहेका छन् भने आसिफका दाइ आरिफ पनि पहिलो रोजाइमा मुख्य दाबेदार हुन्। आसिफले कुशल भुर्तेलसँग ओपनिङ गर्नेछन् भने युवा अलराउन्डर गुलशन झाको उपस्थितिले टिमलाई बलियो बनाएको छ।
ुजिम्बावेमा ब्याटिङको चुनौतीलाई पार गर्न सक्ने हो भने नेपाललाई सुपर सिक्समा पुग्ने ऐतिहासिक मौका छ। त्यसका लागि नेपालले आयोजक जिम्बावे तथा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँगै अमेरिका र नेदरल्यान्ड्ससँग उत्कृष्ट खेल देखाउनु पर्नेछ। समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन्। चारमध्ये दुई खेल जित्न सके सुपरसिक्स पुग्ने सम्भावना हुनेछ।
नेपालको खेल तालिका
जिम्बावेविरूद्ध, असार ३ – हरारे स्पोर्ट्स क्लब
अमेरिकाविरूद्ध, असार ५ – ताकासिङ्गा क्रिकेट क्लब
वेस्ट इन्डिजविरूद्ध, असार ७ – हरारे स्पोर्ट्स क्लब
नेदरल्याण्ड्सविरूद्ध, असार ९ – ताकासिङ्गा क्रिकेट क्लब
नेपाली टिम
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो।