२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘आदिपुरुष’ रिलिज नहुँदै उत्कर्षमा : नेपालमा पनि हनुमानका लागि एक सिट खाली राखिने

काठमाडौं । प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ रिलिज नहुँदै विश्वव्यापी चर्चामा छ । शुक्रबारदेखि नेपालमा पनि यो फिल्म रिलिज हुँदैछ । यो फिल्म बुधबार न्युयोर्कको ट्राइबेका फिल्म फेस्टिभलमा विश्व प्रिमियर भयो । भारतसहित विश्वभर यो फिल्मलाई लिएर चर्चा पनि छ । यस्तोमा भगवान हनुमानको सम्मानका लागि भन्दै एक सिट खाली राख्ने निर्माताको निर्णयले भारतमा चर्चा गर्माएको छ ।

रामायणको कथावस्तु भएकाले नेपालमा समेत यसको चर्चा छ । नेपालका केही सिनेमा हलले समेत ‘आदिपुरुष’को प्रदर्शनको क्रममा हनुमानसहित राम, लक्ष्मण र सीताको लागि पनि सिट खाली राख्ने घोषणा गरेका छन् । नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना फ्रेन्चाइजी हलमा हनुमानको लागि सम्मानको लागि एक सिट खाली राख्ने भएको छ ।

आईएनआई फ्रेन्चाइजी निर्देशक सुरेन्द्र थापाले आफ्ना चार हलहरु काठमाडौंको ल्होत्से, चितवन, बुटवल र पोखरामा हनुमानका लागि एक सिट खाली राख्ने निर्णय भएको बताए । ‘जहाँ राम र सीता हुनुहन्छ, त्यहाँ हनुमान पनि हुनुपर्छ भन्ने मान्यताअनुसार एक सिट खाली राख्ने निर्णय गरेका छौं,’ थापाले बताए । उनले ‘यो हनुमानका लागि सम्मान हो भनेका छन् ।’

यसैबीच, हेटौंडाको एनएस सिनेमाजले आदिपुरुष प्रदर्शनको क्रममा चार जना भगवानलाई समर्पित गर्दै चार सिट खाली राख्ने घोषणा गरेको छ । हलका व्यवस्थापक किशोरराज पौडेलका अनुसार भगवान श्रीराम, लक्ष्मण, सीता र हनुमानका लागि भन्दै चार सिट खाली राख्ने निर्णय भएको छ । भगवानप्रतिको आस्थाको कारण एक सिट खाली राखिने उनले बताए ।

आदिपुरुषका नेपाल वितरक उज्वल पौडेलले फिल्मको क्रेजलाई लिएर आफूहरु उत्साहित रहेको बताए । यो फिल्मलाई ए-एट सिनेमाले निकै महंगो मूल्यमा नेपाल ल्याउन लागेको जनाइएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस