२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लोभले उचाइमा पुगेको प्रोफाइल खाल्डामा, दुनियाँको मनमा बसेका कलाकार यो हालतमा प्रहरी खोरमा

काठमाडौं । लोभ र दरिद्रताले उचाइमा पुगेको प्रोफाइल खाल्डामा खसे बराबर भएको छ । दुनियाँको मनमा बसेका कलाकार तस्बिरमा देख्न सक्नुहुन्छ यो हालतमा प्रहरी खोरमा रहेका छन् । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वान–एक्स बेटलगायत बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजका एजेन्ट, खेलमा संलग्न व्यक्ति र त्यसको प्रचारात्मक कार्यक्रममा सहभागिमाथिको अनुसन्धान तीव्र बनाउँदा उनीहरुको सम्लग्नता देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

बुधबारमात्रै पाँच जना एजेन्ट पक्राउ गरेको प्रहरीले त्यसमा संलग्न अन्य व्यक्तिको खोजी तीव्र पारेको थियो । नेपालमा गैरकानूनी रहेको यस अनलाइन खेलको प्रचार–प्रसारमा संलग्न मानिससमेत देखिएकाले उनीहरूको पनि खोजी जारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताउनुभयो । सोही क्रममा हिजो र आज कलाकारसहित थप आठ जनालाई पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ पर्नेमा ‘बल्छी ध्रुवे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ, ‘राजु मास्टर’ नामले चर्चित कलाकार राजु पौडेल, ‘म्याकुरी’ भनेर चिनिने पवन खतिवडा, युट्युबर अलिश राई र जलन घर्तीमगर, ‘भटभटे माइला’ भनेर चिनिने बेगम नेपाली, गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) रहेका छन्। उनीहरु आफ्नो कलाकारिताका कारण दुनियाँको मनमा बसेका थिए ।

“आज पनि अपरेशन टोली फिल्डमा गएको छ, केही व्यक्तिहरू पक्राउ परेका छन्, यो क्रम अझै जारी रहन्छ”, उहाँले भन्नुभयो । डा केसीले यसरी प्रचार गर्ने, खेलमा संलग्न हुने र खेलाउने सबै कानूनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । सोही सिलसिलामा अहिले तथ्य अध्ययन पनि भइरहेको उहाँले बताउनुभयो । कार्यालयले विगत तीन महिनादेखि सट्टेबाजविरुद्ध अपरेशन चलाउँदै आएको छ ।

सोही क्रममा प्रहरीले विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने वान–एक्स बेटमार्फत एकै व्यक्तिले ६४ करोडसम्म अवैध कारोबार गरेको फेला पारेको थियो । कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारू, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धिताललगायतका कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टको रूपमा सक्रिय भएको पाइएको छ । यसरी सट्टेबाजको रकम प्रयोग गर्न उनले ६३ वटा खाता खोलेको भेटिएको छ ।

उनीसँगै अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् । उनीहरूले सट्टेबाजमा रु ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ । उनीहरूलाई कार्यालयले थप अनुसन्धान तथा काराबाहीका लागि प्रहरी परिसरमा बुझाइसकेको छ । प्रहरी परिसरले अदालतमा उपस्थित गराएर अनुशन्धानका लागि हिरासतमा राख्न अनुमती समेत पाइसकेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने व्यवस्था छ । धारा १२५ को (२) को उपदफा (१) को (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा रु ३० हजार सम्म जरिवाना र उपदफा (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र रु ५० हजार सम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र रु १० हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस