२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

प्रेम विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या गरी बोरामा प्याक गरेर फ्याँके, यसरी खुल्यो हत्या कर्तुत

दमौली। तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडामा केही दिनदेखि दुर्गन्ध फैलिएको थियो। सुवर्णमार्गको कच्ची सडकबाट आवतजावत गर्नेहरु र स्थानीय वासिन्दाले शव गाडिएको आशंकामा वडा सदस्यलाई खबर गरे।

प्रहरी बोलाएर खोजतलास गर्दा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र युवतीको शव भेटियो। शव क्षतविक्षत अवस्थामा थियो भने गल्न थालिसकेको थियो। उक्त शव ब्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षकी रंगिला भुजेलको थियो।

२४ जेठदेखि माइती पक्षको सम्पर्कमा नरहेकी उनको शव बाबुले पहिचान गरेका थिए। भुजेलको गत १ वैशाखमा भानु नगरपालिका–५ का मैबलका २१ वर्षका मनोज विष्टसँग प्रेम विवाह भएको थियो । उनीहरु ब्यास नगरपालिका–४ मा डेरामा बस्दै आएका थिए।

रंगिलाको हत्या गरेर शव लुकाएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले बताउनुभयो । हत्याको आरोपमा प्रहरीले रंगिलाका श्रीमान मनोजलाई पक्राउ गरेको छ।

श्रीमान श्रीमतीको मनमुटावको कारण हत्या गरेको खुलेको विष्टले बताउनुभयो । ‘श्रीमतीले श्रीमानलाई जानकारी नै नदिई दुईवटा सिम चलाएको कारण झगडा पर्दा हत्या गरेको खुलेको छ। २६ गते दिउँसो आफनै डेरामा हत्या गरी शवलाई व्यवस्थापन गर्न नालीको ह्युम पाइपभित्र राखेको पाइयो’ उहाँले भन्नुभयो । मनोजमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस