२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सकियो

chief justice harikrishna karki

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीले सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गरेसँगै सुनुवाइ सकिएको हो ।

त्यसक्रममा उहाँले आफू इच्छाविपरीत न्यायाधीश बनेको तर इमान कायम राखेको स्पष्टिकरण दिनुभयो । सुनुवाइ समितिको अर्को बैठक शुक्रबार ८ बजे बस्नेछ । शुक्रबारको बैठकमा सवाल जवाफ हुने तय भएको छ ।

कामु प्रधानन्यायाधीश समेत रहनुभएका कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस हुनुभएको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराउनुभएको थियो । तर उजुरीकर्तालाई आफ्ना कुरा राख्न नदिएको भन्दै विरोध स्वरुप सडकबाट आम नागरिक समक्ष कुरा पुर्याउने भन्दै उजुरीकर्ताहरुले प्रक्रिया नै बहिस्कार गरे ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ । हाल कार्की नै कामु प्रधानन्यायाधीश हुनुहुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ । संसदीय सुनुवाइ समितिमाथी नै वैधताको प्रश्न उजुरीकर्ताहरुले लगाएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस