२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पक्राउ परेका बल्छी ध्रुवे, राजु मास्टर, म्याकुरीसहितका ८ जनालाई हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । प्रहरीले प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ गरेका ८ जनालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ।

पक्राउ परेका चर्चित कलाकार र युट्युबरहरुलाई जिल्ला अदालतबाट चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति पाएको हो। प्रहरीले वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताउनुभयो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ‘बल्छी ध्रुवे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ, ‘राजु मास्टर’ नामले चर्चित कलाकार राजु पौडेल, ‘म्याकुरी’ भनेर चिनिने पवन खतिवडा, युट्युबर अलिश राई र जलन घर्तीमगर, ‘भटभटे माइला’ भनेर चिनिने बेगम नेपाली, गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) रहेका छन्।

प्रहरीले उनीहरूलाई ‘वान एक्स बेट’को प्रमोसन गरेको आरोपमा पक्राउ गरेको हो। नेपालमा कुनै पनि एपको प्रयोग गरेर सट्टेबाजी खेलाउने प्रकियालाई गैरकानूनी मानिएको छ। प्रहरीले सोही कुरालाई मध्यनजर गर्दै वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको प्रहरीको भनाइ छ। प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत् एक अर्बभन्दा बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो । पक्राउ परेका कलाकारहरुले वानएक्स बेट मार्फत मोटो रकम लिने गरेको खुलेको प्रहरी स्रोतले बताएको छ। प्रहरीका अनुसार कम्तिमा १० लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म उनीहरुले प्रचारप्रसार बापतको रकम माग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस