२०८१ असोज २८ गते सोमवार | 2024 October 14th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इच्छा विपरीत न्यायाधीश बन्न बाध्य भएको हुँ, इमान कायम राखेको छु : प्रस्तावित प्रधानन्यायाधीश कार्की

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू इच्छा विपरीत सर्वोच्चको न्यायायाधीश नियुक्त भएको बताउनुभएको छ । तत्कालीन प्रधान्यायाधीशसमेतको आग्रहमा आफू सर्वोच्चको न्यायाधीश नियुक्त भएको र अहिले परिस्थितिबस कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उहाँले स्पष्टिकरण दिनुभएको छ । आज बिहानको संसदीय सुनुवाइ समितिको बैठकमा उहाँले आफूले इमान कायम राखेको दावी समेत गर्नुभएको छ ।

करिब साढे तीन महिना महान्यायाधिवक्ताको भूमिका निर्वाह गरेपछि न्यायाधीशको प्रस्ताव आएको बताउँदै उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतको प्रस्ताव आइसकेपछि मैले यहाँ इमान्दारीपूर्वक भन्दा मैले जाने इच्छा व्यक्त गरेको होइन, मैले अरु नै साथीहरुलाई लानुस् भनें । तर तत्कालीन प्रधानन्यायाधीशले तपाईं आउनुस्, न्यायपालिकामा तपाईंले सेवा गर्नुपर्छ । बाहिरबाट भूमिका खेलेर मात्र हुँदैन भित्र बसेर पनि अनुभव हासिल गर्नुस् कस्तो हुँदो रहेछ भन्नुभयो र त्यसपछि मैले त्यसलाई सहर्ष स्वीकार गरें ।’

अहिले परिस्थितिबस र सौभाग्यबस आफू आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उहाँले बताउनुभयो । २०७२ साल फागुन १८ गते न्यायाधीशमा सिफारिस भएको र २०७३ साउन १७ गतेमात्र न्यायाधीश बनेको कार्कीले जानकारी गराउनुभयो । २०४० सालमा कानुन व्यवसायमा प्रवेश गरेदेखि हालसम्म पनि इमान, निष्ठा र व्यवसायीक धर्मलाई पूर्णरुपमा पालना गरेको उहाँको दाबी छ । आफूले हालसम्म ५५८६ मुद्दा फैसला गरेको जानकारी गराउँदै सबै मुद्दामा आफू र्निविवाद रहन सकेको दावी गर्नुभयो । गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस