२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनले ‘आदिपुरुष’को विवादित अंश नहटाएसम्म सबै भारतीय फिल्म रोक्न माग गर्दै मन्त्रालयलाई पत्र पठाए

Adipurush movie balen shah

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र) ले भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक अंश हटाउन पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्नुभएको छ । उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख छ ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने संरक्षण तोकेको उल्लेख गर्दै बालेनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने तर्क पनि बालेनले गर्नुभएको छ । यसका लागि सरकारले भारतसँग कूटनीतिक पहलमार्फत उक्त फिल्मको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन समेत उहाँले माग गर्नुभएको छ ।

उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गराउने व्यवस्था गर्न समेत उहाँले मन्त्रालय समक्ष आग्रह गर्नुभएको छ । बिहीबार एक स्टाटस लेख्दै उहाँले तीन दिनभित्र उक्त संवाद नहटाए काठमाडौं महानगरभित्र भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने उल्लेख चेतवानी दिनुभएको थियो ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस