२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सँगै गाँजा सेवन गरेर आफू भन्दा ठूलोसँग कुरा गरेको निहुँमा ज्ञान बहादुरले गरे सुमनको हत्या

काठमाडौं । आफ्नै साथीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमाबाट एक युवकलाई पक्राउ गरेको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ का १८ वर्षीय सुमन कुँवरको हत्या आरोपमा उनकै साथी तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका २२ वर्षीय ज्ञान बहादुर कुँवर पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गत जेठ ३० गते साँझ ७ बजेतिर सुमन मृत अवस्थामा फेला परेका थिए। स्थानीय देवनाथ कुँवरको जस्ताले छाएको पक्की खाली घरमा सुमन मृत फेला परेपछि अनुसन्धानको क्रममा ज्ञान बहादुरले उनको हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दान बहादुर थापाले जानकारी दिनुभयो ।

डिएसपी थापाले मृतक र आरोपित दुबैजना केही समययता सँगसँगै खाने, बस्ने, घुम्ने गर्दै आएको र सोही क्रममा उत्पन्न भएको सामान्य विवादका कारण ज्ञान बहादुरले सुमनको हत्या गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

केही समययता मृतक र हत्या आरोपित दुबैजना सँगसँगै खाने, बस्ने, घुम्ने र लागू औषध गाँजा सेवन गर्दै आएको अनुसन्धानबाट देखिन्छ, सोही क्रममा सामान्य विवाद उत्पन्न भएपछि आवेगमा आएर सुमनको हत्या गरेको आरोपितले स्वीकार गरिसकेका छन् डिएसपी थापाले भन्नुभयो ।

डिएसपी थापाका अनुसार दुबै जनाले गाँजा सेवन गरेपछि सामान्य विवाद हुँदा ज्ञानबहादुरले आफूभन्दा कम उमेरको भएर मुख लागेको भन्दै तत्काल आवेशमा आएर सुमनलाई चापाकलको ह्याण्डिलले प्रहार गरेका थिए। जेठ ३० गते साँझ सुमनको हत्या गरेपछी फरार भएका ज्ञान बहादुरलाई तिलोत्तमा नगरपालिका वडा नं. ११ रामनगरमा लुकिछिपी बसेको अवस्थामा बिहीवार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताउँनुभयो । पक्राउ परेका कुँवरलाई जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

थापाले पछिल्लो समय ४० प्रतिशत बढी घटना लागुऔषध दुर्व्यसनका कारण हुने गरेको समेत बताउनुभयो । इलाका प्रहरी कार्यालय बुटवलमा हाल दर्ता रहेका ३० बढी मुद्दामध्ये १२ वटा मुद्दा लागुऔषध सम्बन्धि रहेको थापाले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस