२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमा देखिएको मंकीपक्स भाइरस कति खतरनाक ? जान्नुहोस् जोगिने उपाय

काठमाडौं । नेपालमा मंकीपक्स भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) पुष्टि भएको हो ।

एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि उहाँको काठमाडौंको एक अस्पतालमा परीक्षण भएको थियो । उहाँको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार चिकित्सकको निगरानीमा रहेकी उहाँको स्वास्थ्य अवस्था सामान्य छ । मंकीपक्स भाइरस नेपालमा कसरी भित्रियो भन्ने विषयमा अनुसन्धान भइरहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।

नेपालमा पहिलो पटक पुष्टि भएको एमपक्स संक्रमण विश्वका १११ देशमा पुष्टि भइसकेको छ । चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।

यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि बिफरको तुलनामा मंकीपक्स कम गम्भीर र विरलै घातक हुन्छ । बिफरको अन्तिम केस १९७७ अक्टोबरमा निदान भएको थियो । विश्व स्वास्थ्य संगठनले १९८० मा बिफरको विश्वव्यापी रूपमा उन्मूलन भएको बताएको थियो ।

विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । मंकीपक्सले २०२२–२०२३ मा विश्वव्यापी प्रकोपको रूप लिएको छ । तर यो भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । विभिन्न साना स्तनपायी जनावर (लोखर्के, बाँदर) बाट भाइरस सर्ने गर्छ । ‘मंकीपक्स भाइरस’ संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषतः अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा संक्रमण गर्न सक्छ ।

सरुवा रोग विशेषज्ञहरूका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्छ । संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ । अहिले मंकीपक्स देखिरहेको देशमा भाइरसको स्वरुप परिवर्तन भएकाले महामारीका रूपमा फैलनसक्ने खतरा उत्तिकै रहेको संक्रामक रोग विशेषज्ञ बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार यो भाइरसका दुई प्रकारका पहिचान भएका छन् ।

मध्य अफ्रिकामा देखिएको एउटा भेरियन्टले रोगको बढी लक्षण देखाउँछ । पश्चिम अफ्रिकामा पाइने अर्को भेरियन्टले भने हल्का लक्षण मात्रै देखाउँछ । ‘मध्य अफ्रिकाको भेरियन्टले १० प्रतिशत र पश्चिम अफ्रिकामा पाइने भरियन्टले २ देखि ३ प्रतिशत मृत्यु गराउने पाइन्छ’ डा. अधिकारीका अनुसार ‘मध्य अफ्रिकाको भेरियन्टले कोरोना भन्दा तीन गुणा बढी मृत्यु गराउँछ ।’

अहिले फैलिएको भेरियन्ट पश्चिम अफ्रिकामा पाइने भेरियन्ट (कम घातक) चाहिं हो । ‘यो भाइरस सामान्यतः मानिसमा खुल्ला छाला र थुकको छिटाबाट सर्ने देखिएको छ, तर युरोपतिरका केसहरू हेर्दा कहाँबाट स¥यो भन्ने पहिचान हुनसकेको छैन’ ।

चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’ को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जीउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरू सुन्निनु यसका प्रारम्भिक लक्षण हन् । यस्तो लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिमिराहरू देखिन थाल्छन् र चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ ।

मंकीपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा हराएर जान्छन् । बच्चाहरूमा भने गम्भीर समस्या देखा पर्न सक्छ । रोगको गम्भीरता भाइरस संक्रमणको मात्रा, बिरामीको स्वास्थ्य स्थिति र जटिलताको प्रकृतिसँग सम्बन्धित हुन्छ । यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा गम्भीर समस्या निम्त्याउन सक्छ । मंकीपक्सका गम्भीर बिरामीमा सेकेन्डरी इन्फेक्सन, ब्रोन्कोनिमोनिया, सेप्सिस, इन्सेफलाइटिस र कर्नियाको संक्रमणले दृष्टि गुम्ने समेत हुन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो रोगको मृत्युदर ११ प्रतिशतसम्म पनि पुग्छ । साना बालबालिकामा मृत्युदर उच्च रहेको छ । हालको समयमा मृत्युदर लगभग ३.६ प्रतिशत छ । झन्डै दश संक्रमितमध्ये एकको भने जटिलताको कारणले मृत्यु हुने देखिएको संक्रामक रोग विशेषज्ञहरू बताउँछन् ।

एमपक्स शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्ने तथा पूर्ण रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । सामान्यतया यो आफैं ठीक भएर जाने भाइरल रोग भएकाले यसको कुनै विशेष उपचार छैन । बिरामीहरूलाई पर्याप्त पोषण स्थिति कायम राख्न तरल पदार्थ र पौष्टिक खाना खुवाउने तथा माध्यमिक ब्याक्टेरिया संक्रमण (सेकेन्डरी ब्याक्टेरिया संक्रमण) संकेत अनुसार उपचार गरिन्छ ।

एमपक्स रोगबाट बच्ने उपाय

  • मंकीपक्स जस्तो देखिने दाग भएका व्यक्तिसँग नजिकको (छाला–छालाको) सम्पर्कबाट टाढा रहनुपर्दछ ।
  • संक्रमितको दाग वा घाउलाई नछुने ।
  • संक्रमित व्यक्तिसँग चुम्बन, अँगालो र यौनसम्पर्क नगर्ने ।
  • मंकीपक्स भएका व्यक्तिले प्रयोग गरेको वस्तु र सामग्री नछुने ।
  • संक्रमित व्यक्तिसँग खाने र भाँडाकुँडा साझा नगर्ने ।
  • संक्रमित व्यक्तिको ओछ्यान, तौलिया वा लुगा प्रयोग नगर्ने वा नछुने ।
  • साबुनपानीले हात धुने वा अल्कोहलमा आधारित ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने (विशेषगरी खाना खानुअघि वा आफ्नो अनुहार छोएपछि वा शौचालय प्रयोग गरेपछि) ।
  • मंकीपक्स भाइरस फैलाउन सक्ने जनावर जस्तै मुसा र प्राइमेटहरूको सम्पर्कबाट टाढा रहने । साथै, बिरामी वा मरेका जनावर, ओछ्यान वा तिनीहरूले छोएका अन्य सामग्रीबाट जोगिने ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस