२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तपाइलाई सजाय किन नगर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले बालेनलाई पत्र काट्यो

Balen Shah Sunita Dangol

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहसहित वडा अध्यक्ष, प्रहरी प्रमुखलाई स्पष्टीकरणको पत्र काटेको छ ।

विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण कार्य रोक्न निर्देशन दिएकोबारे उड्डयन प्राधिकरणले मेयरसँग स्पष्टीकरण माग गरेको हो । काठमाडौं–९ मा रहेको जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको नगर प्रहरी पुग्नुभएको थियो । महानगरको टोलीले भवन बनाइरहेको क्षेत्रमा लगाइएको तारबार हटाएको थियो भने निर्माण रोक्न भनेको थियो ।

उड्डयन प्राधिकरणले भने निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी नदिएको बताएको छ । साथै लिखित पत्र र आधिकारिक जानकारी माग गर्दा नगर प्रमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्नू भन्ने जवाफ पाएको भन्दै उड्डयन प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनको दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ? भन्दै बालेनलाई स्पष्टीकरण सोधेको छ ।

यसअनुसार कारवाही भएमा मेयर बालेनलाई ५० हजारसम्म जरिबाना पर्नसक्छ । उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेको निर्णयअनुसार स्पष्टीकरण पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न बालेनलाई निर्देशन दिइएको छ । लिखित स्पष्टीकरण नदिए कानून बमोजिम कारवाही गरिने पत्रमा उल्लेख छ । प्राधिकरणले महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई पनि स्पष्टीकरण सोधेको छ । कार्यबाहक मेयर सुनिता डंगोल भएका बेला महानगरका प्रहरीहरु निर्माण रोक्न त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस