२०८१ साउन ९ गते बुधवार | 2024 July 24th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्राचीन देउलिंगेश्वर महादेव (फोटो फिचर)

दोलखा । जिल्लाको बिगु गाउँपालिका वडा नं. १ मा अवस्थित प्राचीन देउलिंगेश्वर महादेवको मन्दिर प्राचीन मात्र नभएर भक्तजनका लागि समेत प्रख्यात मानिन्छ। यो मन्दिर दोलखाको गोंगर नजिक बायाँ तर्फको उच्च पहाडी भेगमा रहेको छ।

यहाँ तामाङ समुदायहरूको बस्ती रहेको छ। किम्बदन्ती अनुसार महादेवले सतीदेवीलाई विवाह गरेपछि हिँड मेरो घर जाऊँ भनी यही विगु गाउँको डाँडामा रहेको खरको झुपडी घरलाई महादेवले सतीदेवीलाई देखाएको विश्वास मानिन्छ । महादेव भाङको नशामा डुबेका थिए। सतीदेवी यो फोहोर झुप्रो देखेपछि बडो चिन्तित थिइन्। जताततै फोहर, झुपडी भरी माकुराको जाल देखे पछि उनी सुत्न सकिनन् र मन मनमै भनिन कस्तो मान्छेसँग मेरो विवाह भयो भनिन।
सतीदेवीलाई महादेव भन्ने थाहा थिएन। किनभने महादेव सन्वासीको भेषमा थिए। जब बिहानी पख महादेवलाई भाङको नशाले छोडे पछि। महादेवले खरको झुपडी घरमा लात्तीले हानेर प्वाल बनाई त्यही प्वालबाट कैलाश पर्वत अर्थात् गौरीशङ्कर हिमाल देखाएर उ त्यही हो मेरो घर भने पछि सतीदेवी बडो अचम्म परेर खुसीका साथ मेरो विवाह त महादेवसँग भएको रहेछ भनिन।
स्वस्थानी व्रत कथामा प्रस्ट उल्लेख गरिएको छ। यही भएर यहाँ स्वस्थानी पूर्णिमाका दिन विशेष पूजा अर्चना र मेला लाग्ने गरेको हो। साथै यस डाँडाबाट गौरीशङ्कर हिमालको दृश्य बडो मनोरम देखिने गर्दछ। यी महादेवको पूजा अर्चना र दर्शन गर्दा हराएका गाईबस्तुहरू प्राप्त हुने र छोरा, छोरी नहुनेको छोरा, छोरी हुने जनविश्वास रहेको छ।

पहिले यो मन्दिर खरको झुपडी थियो। यस मन्दिरको खरको छाना फेर्दा एकै दिनमा खर काटेर मन्दिर नजिक रहेको कालो ठुलो डुङ्गामा राखेर सफा चोखो गरे पश्चात् मन्दिरको छाना एकै दिनमा फेर्ने चलन थियो। यी महादेवको मूर्ति मन्दिरबाट तल आफै बगेको थियो। सो मूर्तिलाई बाबियोको डोरीले बाँधेर माथि ल्याउन खोज्दा आएनन्। सबै जना चोखो भएर आउनु अनि मात्र आउँछु भने पश्चात् मात्र माथि आएका थिए भनेर स्थानीयवासी भन्छन्। उक्त शिला अर्थात् महादेवको मूर्ति १९८८ माघमा बगेको थियो। स्थानीयवासीहरुका अनुसार यस मन्दिरमा ताम्र पत्र समेत रहेको थियो। जसमा वि स ६०० उल्लेख गरिएको थियो।

हाल उक्त प्राचीन छानोको मन्दिर जीर्ण भएपछि भत्काई चार पाटे इँटाको गारोमा रातो जस्ताको छाना हालेर बनाइएको छ। मन्दिरको माथि ३ वटा गजुर रहेको छ। जसमध्ये बिचको गजुरमा अहिले पनि खर राखिएको छ। मन्दिर गर्भ गृहमा निकै नै कलात्मक शैलीको शिला रहेको छ भने शिलाको माथि धेरै नै घण्टहरू झुन्डाइएको छ। शिलाको चारै तर्फ भक्तजनहरूले चढाएको फलामको त्रिशूलहरू रहेका छन्। मूर्तिको अगाडी सानो घण्ट समेत झुन्डाइएको छ। यस मन्दिरमा भक्तजनहरूले आफ्नो मनोकाङ्क्षा पुरा होस भनी फलामको त्रिशूल चढाइने परम्परा रहेको छ। मन्दिर परिसरमा अर्थात् मन्दिर अगाडी पनि शिवलिंग रहेको छ। त्यहाँ पनि यत्र तत्र फलामको त्रिशूल समेत देख्न सकिन्छ। यहाँ पूजा अर्चनाको लागि प्रयोग गरिने फलामको त्रिकुट बडो अचम्मको रहेको छ। प्रायः त्रिकुट ज्वाइन्ट अर्थात् जोडिएको हुन्छ। तर यहाँको त्रिकुटमा कुनै पनि ज्वाइन्ट रहेको छैन अर्थात् जोडिएको छैन। यस मन्दिरको केही दुरीमा भैरव स्थान समेत रहेको छ। उत्तिस जातको ठुलो रुखलाई नै भैरव स्थान मानिएको छ। जात्राको दिन यस रुखको फेदीमा भैरवको मूर्ति बनाई स्थापना गरी पूजा अर्चना गरे पश्चात् बलि समेत दिने प्रथा रहिआएको छ। पूजा अर्चना र बलि दिएपछि उक्त भैरवको मूर्तिलाई विधिपूर्वक भत्काइन्छ र देउलिंगेश्वर महादेवको पूजा गरिन्छ।

स्थानीयवासीको अनुसार हाल बनाइएको चार पाटे मन्दिरलाई भत्काएर प्यगोडा शैलीको आकर्षक मन्दिर बनाउने सोच रहेको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस मन्दिरको स्थल हरियालीको बिचमा रहेको छ। यहाँबाट नजिक रहेको गौरीशङ्कर हिमाल लगायत विभिन्न हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ। यस मन्दिरको पुजारीमा तामाङ समुदायका पुजारी रहने परम्परा रहिआएको छ। जसले गर्दा यस देउलिंगेश्वर महादेवको नित्य पूजा अर्चना गर्ने गर्दछन्।

तस्वीर : राजेश ढुंगाना / गोरखापत्र

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस