२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री प्रचण्ड मेलम्चीमा

मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज (शनिबार) मेलम्ची आइपुग्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गर्नुभएको थियो । गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री प्रचण्डले स्थलगत अवलोकन गर्दै आउनुभएको छ । उहाँका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव रहनुभएको छ ।

आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्रीले स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । वि.सं. २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो ।

काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दिगो एवम् दीर्घकालीन रूपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ । सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ ।

वि.सं. २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रूपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो । वि.सं. २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो । रासस / तस्बिरः देवराज सुवेदी/रासस

 

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस