२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एउटै कोठामा राख्न रायमाझी बाउ–छोराको आग्रह, इन्द्रजितले सोधे–यहाँ के–के खान पाइन्छ ?

काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेशमा कारागार चलान भएका १६ अभियुक्तलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ । जहाँ दुईवटा छुट्टाछुट्टै ब्लकमा आठ–आठजना राखिएको कारागार प्रशासनले जनाएको छ ।

नेताद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाणलाई एउटै ब्लकमा राखिएको छ । उनीहरूलाई भद्र बन्दीगृहमा राखिएको केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतले बताउनुभयो । टोपबहादुरका छोरा सन्दीप पनि सोही ब्लकमा छन् । रायमाझी बाउ–छोराले आफूहरूलाई एउटै कोठामा राखिदिन आग्रह गरेका थिए । तर, कारागार प्रशासनले त्यो सम्भव नभएको भन्दै सँगै राख्न मानेन ।

त्यस्तै, खाणका सहयोगी नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा र बिचौलियाद्वय रामशरण केसी र गोविन्द चौधरीलाई भद्र बन्दीगृहमा राखिएको छ । भद्र बन्दीगृहमा करिब एक हजार एक सय कैदी–बन्दी छन् ।

त्यस्तै, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको ब्लकमा राखिएको छ । केन्द्रीय कारागारको ब्लकमा करिब दुई हजार कैदी–बन्दी छन् । दुवै ब्लकमा छुट्टाछुट्टै चौकीदार छन् ।

अदालतको आदेशअनुसार १६ जनालाई फोटो खिचेर उनीहरूको अभिलेख दर्ता गराई कारागारभित्र राखिएको थियो । भित्र पुगेपछि इन्द्रजित राईले ‘यहाँ के–के खान पाइन्छ ?’ भनेर कारागार प्रशासनसँग सोधेका थिए ।

आफू मधुमेहको बिरामी भएकाले भात नखाने र रोटी चाहिने उनको भनाइ थियो । रोटीको व्यवस्था हुने जेलर ललित बस्नेतले जानकारी गराएपछि उनले घरबाट खाना ल्याउन पाइन्छ कि पाइँदैन भनेर सोधेका थिए । पकाएको खानेकुरा जेलभित्र लैजान बन्देज छ ।

जेलभित्र सबैलाई समान व्यवहार हुने जेलर बस्नेत बताउँनुहुन्छ  । ‘जेलभित्र कोही सानो–ठूलो हुँदैन, सबैलाई यहाँ समान सेवा–सुविधा हुन्छ,’ उहाँले भन्नुभयो । जम्मा एक हजार पाँच सय क्षमता भएको केन्द्रीय कारागारभित्र करिब तीन हजार चार सय कैदी–बन्दी छन् । केन्द्रीय कारागारभित्र तीनवटा ब्लक छन् । केन्द्र, भद्र बन्दीगृह र महिला कारागार । क्षमताभन्दा धेरै कैदी–बन्दी भएकाले व्यवस्थापनमा समस्या भएको जेलर बस्नेत बताउँनुहुन्छ । कैदी–बन्दीले दैनिक ८० रुपैयाँ भत्ता र सात सय ग्राम चामलको सुविधा राज्यबाट पाउँछन् ।

 

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस