२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप ग्लोबल छनोट : नेपाल र जिम्बाब्वेबीच आज प्रतिस्पर्धा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोट आज जिम्बाब्वेमा सुरु हुँदैछ । नेपालले आज नै घरेलु टोलीसँग उद्घाटन खेल खेल्दै आफ्नो यात्रा सुरु गर्दैछ ।

समूह ए मा रहेका नेपाल र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ । टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेल्न लागेको यो पहिलो पटक हो । नेपालले अहिलेसम्म खेलेका ५१ ओडीआई सबै एसोसिएट राष्ट्रविरुद्ध हुन् ।

नेपाल विश्व क्रिकेट लिग टूको शीर्ष तीनमा रहँदै सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो । जिम्बाब्वे सुपर लिगबाट झरेको हो । छनोटको तयारी स्वरुप नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई अभ्यास खेल खेलेको थियो । खराब ब्याटिङ गरेको नेपाल दुवैमा पराजित भयो । प्रतियोगितापूर्वको अन्तिम वार्मअपमा भने नेपालले ओमानलाई २ विकेटले पराजित गर्दा कुशल भुर्तेलले शतक प्रहार गरेका थिए । पहिलो वार्मअपमा भने नेपाल यूएईसँग हारेको थियो ।

कप्तान रोहित पौडेलले यो प्रतियोगिताका लागि टिमले लामो समयदेखि मेहनत गरेको बताएका छन् । जिम्बाब्वेका कप्तान क्रेग अर्भिनले ग्लोबल छनोटका लागि टिमको तयारी उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।

नेपाल र जिम्बाब्वे ५० ओभरको खेलमा यसअघि २०१८ मा आमने सामने भएका थिए । जसमा जिम्बाब्वे १ सय १६ रनले विजयी भएको थियो । ३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालका लागि आरिफ शेखले ५०, रोहितले ३० र ज्ञानेन्द्र मल्लले ३२ रन बनाएका थिए । यी तीनै खेलाडी अहिले टिममा समावेश छन् । आज नै हुने समूह ए को अर्को खेलमा वेस्टइन्डिज र अमेरिका आमने सामने हुनेछन् ।

नेदरल्यान्ड्स पनि यसै समूहमा छ । समूह बी मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्‍का र यूएई छन् । दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । त्यसबाट दुई टिमले आगामी अक्टोबरमा भारतमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् । विश्व कप खेल्ने आठ टिम यसअघिनै छनोट भइसकेका छन् ।

 

 

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस