२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वी पहाडमा बाढीको वितण्डा : पाँचको मृत्यु, २८ बेपत्ता

Hewakhola flood

काठमाडौं । कोसी प्रदेशका पहाडी जिल्लामा बाढीले वितण्डा मच्चाएको छ । मनसुनको सुरुवातमै शनिबार रातिको अविरल वर्षाले पाँचथर, ताप्लेजुङ, संखुवासभालगायत जिल्लामा क्षति पुर्‍याएको हो । प्रदेश प्रहरी कार्यालय कोसीका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार हालसम्म पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरमा दुई, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा एक–एकजना छन् ।

बाढीमा २८ जना अझै बेपत्ता भएका छन् । सबैभन्दा धेरै संखुवासभामा २० जना हराइरहेको प्रवक्ता कँडेलले बताउनुभयो  । हराएकामध्ये अधिकांश संखुवासभास्थित सुपर हेवा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदुर रहेका छन् । पाँचथरमा पाँचजना र ताप्लेजुङमा तीनजना हालसम्म बेपत्ता छन् । उहाँहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । ‘पहाडमा भौगोलिक रूपमा पनि खोजी गर्न समस्या हुन्छ । यद्यपि, प्रहरीले खोजी गरिरहेको छ,’ कँडेलले भन्नुभयो ।

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोसीका विभिन्न जिल्लामा २० घर बगाएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार संखुवासभामा १० घर बाढीपहिरोले बगाएको र आठ घरमा आंशिक क्षति पुगेको छ । पाँचथरमा १० घर बाढीपहिरोले बगाएको छ । बाढीपहिरोका कारण पाँचथरका ३१ घरपरिवार विस्थापित भएर आफन्तको शरणमा पुगेका छन् । इलाममा एउटा घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

संखुवासभाको पाँचखपन नगरपालिका– ४ र चैनपुर नगरपालिका– ९ को बीचमा पर्ने हेवाखोलाको बाढीले व्यापक क्षति पुर्‍याएको छ । बाढीले चैनपुर र पाँचखपन नगरपालिकामा १० घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् । मोटरेबल पुल भाँचिएपछि दुई पालिकबीच आवातजावतमा समस्या हुनुका साथै वैकल्पिक घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता छ । बाढीमा परी सुपर हेवा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदुर गरी १९ जना सम्पर्कविहीन भएकामा एकजनाको शव फेला परेको छ ।

 

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस