२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली गोलभेँडा सडकमा, भारतीय गोलभेँडा प्रतिकिलो ५० रुपैयाँमा स्टलमा

काठमाडौं । नेपाली किसानले गोलभेँडाको उचित मूल्य नपाएपछि कालीमाटी तरकारी बजार परिसरभित्रै गोलभेँडा फालेर विरोध गरेका छन् । काठमाडौं उपत्यकाआसपासका थानकोट, रामकोट, काभ्रे, भक्तपुरलगायतका किसानहरूले उचित मूल्य नपाएपछि करिब ३० हजार किलो गोलभेँडा कालीमाटी तरकारी बजार परिसरभित्र र आसपासमा फालेका हुन् ।

नेपाली गोलभेँडाको मूल्य कालीमाटी तरकारी बजारमा ६ रुपैयाँ प्रतिकिलो छ । अघिल्लो वर्षको सोही समयमा बजारमा गोलभेँडाको मूल्य टनेलको २५ रुपैयाँ र सानो गोलभेँडा टनेलको करिब ३८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो । तर, यसपटक किसानले प्रतिकिलो चार रुपैयाँ पनि नपाएपछि सडकमा आएको किसानहरू बताउँछन् । हाल खुद्रा बजारमा गोलभेँडाको मूल्य ३० रुपैयाँदेखि ३५ रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आइरहेका छन् ।

कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले करिब ३० हजार किलो गोलभेँडा सडक र तरकारी बजारआसपास फालेर विरोध गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘किसानले पछिल्लो समय उचित मूल्य पाइरहेका छैनन्, खासमा माग र आपूर्तिबीचमा सामञ्जस्यता नमिल्दा मूल्य नपाएका हुन् ।’

उत्पादन बढेको छ, तर उपभोग जहाँको त्यहीँ हुँदा मूल्य सस्तिएको श्रेष्ठको भनाइ छ । जेठको अन्तिम सातासम्म नेपाली गोलभेँडाको मूल्य कालीमाटी तरकारी बजारमा २९ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको थियो । तर, एकाएक बजारमा नेपाली गोलभेँडा बढ्दा किसानले उचित मूल्य पाउन कठिन भएको श्रेष्ठको भनाइ छ । पछिल्लो तीन हप्तादेखि भारतीय गोलभेँडा भित्रिएकोे छैन । श्रेष्ठका अनुसार जेठ महिनाभरिमा दुई–तीन मेट्रिकटनजति ठूलो भारतीय गोलभेँडा आएको छ ।

भारतीय गोलभेँडाले नेपाली किसानले उत्पादन गरेको गोलभेँडाको बजारलाई असर नपर्ने श्रेष्ठको दाबी छ । ‘अहिले भारतीय गोलभेँडा कालीमाटीको तरकारी बजारमा भित्रिएको छैन, अघिल्लो महिनाभरिमा करिब तीन मेट्रिकटन मात्र भित्रिएको छ, तर त्यसले नेपाली उत्पादनको गोलभेँडामा असर गर्दैन,’ उहाँले भन्नुभयो, ‘यो ठूलो गोलभेँडा होटेलहरूतिर बढी जाने गर्छ, उपभोक्ताले कमै खरिद गर्छन्, नेपाली गोलभेँडाको मूल्यमा यसले असर गर्दैन ।’ यता भारतीय गोलभेँडाको मूल्य भने प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको छ । अहिले गोलभेँडाको मूल्य सिजन हो, यसपटकको उत्पादन हरेक वर्ष तरकारीमा उत्पादन बढिरहेको छ, ठूलो परिमाणमा एकैपटक उत्पादन हुने हुँदा बजारमा पाउन गाह्रो भएको श्रेष्ठको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस