२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा तीव्रता दिन प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । ताप्लेजुङ र पाँचथरका नेताहरुले बाढी पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोजी, राहत र पुनर्स्थापनाको काममा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेताहरुले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन माग गर्नुभयो । साथै सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक व्यवस्था मिलाउन पनि माग गर्नुभयो ।

 

भेटमा प्रधानमन्त्री प्रचण्डले बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताउनुभयो । बाढी पहिरोले पुर्याएको क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यातायात सम्पर्क टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको जानकारी गराउनुभयो ।

तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशन दिइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाइने पनि बताउनुभयो ।

प्रधानमन्त्रीसँगको भेटमा पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री लगायतका नेता एवं जनप्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस