२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समाजवादी मोर्चा प्रतिगामीका लागि युद्धको घोषणा हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा राजनीतिक परिवर्तनबिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताउनु भएको छ । समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले मोर्चा घोषणा राजनीतिक परिवर्तनबिरुद्ध लाग्नेहरुका लागि युद्धको घोषणा भएको बताउनुभयो । “परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरुले टाउको उठाउन खोज्नेका विरुद्ध यो मोर्चा एक प्रकारको युद्ध हो” उहाँले भन्नुभयो ।

 

मोर्चा जनताको पक्षमा, प्रगतिशील र वामपन्थीको पक्षमा भएको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भुमिका खेल्ने सबैलाई मोर्चासँग हातेमालो गर्न आग्रहसमेत गर्नुभयो ।

“हामी परिवर्तनका पक्षधर, विभिन्न संघर्ष र बलिदानबाट गुज्रिएका पार्टी र नेताहरुलाई, विचार र प्रवृत्तिलाई बदनाम गर्ने र यो परिवर्तन जो हजारौँ सहिद र बेपत्ता, क्रान्तिकारीहरुको त्याग, तपस्या र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, ह्युमुलेट गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेले टाउको उठाउन खोजेकै छन” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्रीले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्व भएको चर्चा गर्नुभयो । विप्लव नेतृत्वको दल समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफूहरुमा लागेको धूलोमैलो सफा गर्न मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले नेता, कार्यकर्ताहरुको उत्साहले समाजवादी मोर्चाको औचित्य स्थापित भइसकेको बताउनुभयो । समाजवादी मोर्चालाई अभियानको रुपमा लैजाने विश्वास दिलाउनुभयो । उहाँले आवश्यक पर्दा परिवर्तनका लागि आफूहरु सडकमा समेत जाने बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस