२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले अमेरिकालाई हरायो, विश्वकपको यात्रा जीवित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह बीको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । ४२ बल बाँकी रहँदै नेपालले निर्धारित लक्ष्य पूरा गरेको हो । दुई सय आठ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । योसँगै नेपालले विश्वकपको यात्रा जीवित राखेको छ ।

कुशल भुर्तेलसँग ओपनिङमा उत्रिएका आसिफ शेख १६ बलमा १२ रन जोडेर सौरभ नेत्राभल्करको बलमा एलबडीडब्लूको शिकार भएका थिए। कुशल १७औं ओभरमा नोस्थुस केन्जिगेको बलमा कट एन्ड बोल्ड भए। तेस्रो विकेटका लागि भीम सार्कीसँग ३८ रनको साझेदारी गरेका रोहित २९ बलमा १६रन जोडेर निसराग पटेलको बलमा जसदीप सिंहको हातबाट क्याच भए। चौथो विकेटको रुपमा कुशल मल्ल मात्र एक रनमा आउट भए । भीम सार्की ७७ रन र दिपेन्द्रसिंह ऐरी ३९ रन जोडेर नटआउट रहे ।

पहिलो इनिङमा सयान जहानगिरको अविजित शतकप्रेरित अमेरिकाले नेपाललाई दुई सय आठ रनको लक्ष्य दिएको थियो। जिम्बाब्वेको तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय सात रनको योगफल तयार गर्यो।

अमेरिकाका लागि सातौं नम्बरमा क्रिजमा उत्रिएका जहानगिरले ७९ बलमा १० चौका र तीन छक्कासहित १०० रन पूरा गरे। नेपाली बलिङसामू सघर्षरत अमेरिकाका लागि जहागिर संकटमोचक साबित भए। ओपनर सुशान्त मोदानीले ४२ बाहेक अन्य अमेरिकी ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चेर तीन मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, गुल्शन झाले १० ओभरमा ५२ रन खर्चेर तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए। ललित राजवंशीले पनि एक अमेरिकी ब्याटरलाई पभिलियन फर्काउँदा सन्दीप लामिछाने विकेटविहीन रहे। आइतबार देखि सुरु भएको विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस