२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबै विषय पढेकाले शिक्षक लाइसेन्स पाउने

काठमाडौं । सरकारले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने घोषणा गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा अर्थमन्त्री प्रकाशसरण महतले भन्नुभयो, अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गरेको व्यक्ति सम्मिलित हुन पाउने व्यवस्था मिलाइनेछ ।

सरकारले घोषणा गरेसँगै कहिलेबाट परीक्षा दिन पाइन्छ भन्ने आम चासो रहको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीका अनुसार कानुन संशोधन नभएसम्म तत्काल कार्यान्वयन हुन समस्या रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, सरकारले आगामी आर्थिक वर्षबाट यसको व्यवस्था हुने बजेट भाषणमा बताएको छ । तर शिक्षक सेवा आयोग नियमावली संशोधन गरेपछि मात्र कार्यान्वयन गर्न सकिन्छ । उहाँका अनुसार शिक्षक सेवा आयोगले साउन महिनामा विज्ञापन प्रकाशन गर्ने योजना रहेकाले साउन महिनामै शिक्षा नियमावली संशोधन गरे तत्काल नै कार्यान्वयनमा आउन सक्नेछ ।

यस्तै शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले मौजुदा कानुन अनुसार जुनसुकै विषय पढेकालाई लाइसेन्स परीक्षा दिलाउन नसकिने बताउनुभयो । केही विषयहरूमा ऐनले नै लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गरेपछि सबैको हकमा भने अहिले लागु गर्न नसकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, हालको मौजुदा कानुन अनुसार जुनसुकै विषय पढेकालाई लाइसेन्स परीक्षा दिलाउन सकिँदैन । विधानतः गणित,विज्ञान,इलेकट्रोनिक इन्जिनियरिङ, लेखा पढेकालाई परीक्षा दिलाउन सकिने व्यवस्था रहेपनि सबै विषयको हकमा भने शिक्षक सेवा आयोग नियमावली नै संशोधन गर्नुपर्ने हुन्छ ।

यतिबेला शिक्षा शास्त्र सङ्काय पढेकाले मात्र परीक्षा दिन पाउने हुँदा क्षमता भएका व्यक्तिहरू पछाडि पर्ने भएकाले क्षमता भएका व्यक्तिहरूलाई अवसरहरू प्रदान गर्नका लागि यो व्यवस्था ल्याइएको हुनसक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, अहिले शिक्षा शास्त्र पढेकाले मात्र परीक्षा दिँदा धेरै उत्तीर्ण नै हुन नसकेको अवस्था पनि रहेको छ । त्यसकारण क्षमता भएका व्यक्तिहरूलाई अघि ल्याउनका लागि यसको व्यवस्था गरिएको हो ।

उहाँका अनुसार शिक्षा शास्त्र पढेका व्यक्तिहरू कन्टेन्ट र पेडागोजीमा बढी पोख्त हुने भएकाले अन्य जुनसुकै विषय पढेकालाई पनि १० महिनाको अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

शिक्षाविद्को मिश्रित प्रतिक्रिया

शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले सरकारले गरेको घोषणा अनुसार कार्यान्वयन भए शिक्षा क्षेत्रमा राम्रो प्रतिफल दिने बताउनुभयो ।उहाँले भन्नुभयो, सरकारले बजेट भाषणका क्रममा घोषणा गरेको जुनसुकै विषय पढेकालाई शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने व्यवस्था सकारात्मक छ । यसलाई कार्यान्वयन गरियो भने गुणस्तरीय शिक्षक पैदा हुन्छन् ।

उहाँका अनुसार शिक्षा शास्त्र पढेका व्यक्ति मात्र शिक्षण पेसाका लागि योग्य हुन्छन् भनेर सोच्नु गलत हुन्छ । सरकारको यो व्यवस्थाले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने भएकाले तत्काल यसलाई कार्यान्वयन गर्नुपर्ने उहाँको सुझाव छ ।

तर, शिक्षाविद् मनप्रसाद वाग्लेले यस व्यवस्था लागू भए अहिलेभन्दा बढी शिक्षा क्षेत्रलाई गाली गर्ने अवस्था बन्ने बताउनुभयो । विश्वको जुनसुकै स्थानमा पनि शिक्षा शास्त्र पढेका भन्दा बाहिरकालाई शिक्षक लाइसेन्स दिने व्यवस्था नभएकाले नेपालमा पनि यसको कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, विश्वमा कुनै पनि देशमा शिक्षा सङ्काय नपढेको व्यक्तिलाई शिक्षक लाइसेन्स दिने व्यवस्था छैन । त्यसकारण नेपालमा जुनसुकै विषय पढेकोलाई शिक्षक लाइसेन्स प्रदान गर्न लागियो भने शिक्षा क्षेत्रलाई झन् गाली गर्नुपर्ने स्थिति सिर्जना हुनसक्छ ।

यस्तै शिक्षाविद् डाक्टर सुमन तुलाधरले अहिले भएको शिक्षा प्रणाली अनुसार जुन सुकै विषय पढेको व्यक्तिले शिक्षक लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले नेपालको शिक्षा प्रणाली अनुसार शिक्षा सङ्काय पढेको व्यक्तिलाई मात्र शिक्षक लाइसेन्स दिन पाउने व्यवस्था छ । यदि जुनसुकै विषय पढेको व्यक्तिलाई लाइसेन्सको परीक्षा दिन पाउने व्यवस्था गरिए शिक्षा क्षेत्र झन् खस्कनेछ । ”

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस