२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिनुभएको छ । मेयर साहले क्षेत्राधिकारबाहिर गएर गरेको काम र नगर प्रहरीको उदण्ड व्यवहारका कारण आफूले पदबाट राजीनामा दिएको उहाँको भनाइ छ।

मेयर साहले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र नगर प्रहरीले पनि उद्दण्ड व्यवहार देखाएकोले आफूलाई त्यहाँ बस्न मन नलागेको उहाँले बताउनुभयो ।

अर्यालले हिजो राजीनामापत्र बुझाउनुभएको छ । महानगरको नगर प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको अमानवीय व्यवहार, सिनेमा हलमा भारतीय फिल्म बन्द, शैक्षिक कार्यक्रममा हस्तक्षेप र सामाजिक सञ्जालको लहडमा लागेर मेयर साहले काम गरेको उहाँको आरोप छ।

‘कतिपय राम्रा कुराहरू मेयरसापले सुनुवाइ गर्नुभयो, तर पछिल्लो समय उहाँले आफ्नो क्षेत्राधिकारबाहिर गएर काम गरेको मलाई चित्त बुझेन,’ अर्यालले भन्नुभयो, ‘मेरा केही माग पनि थिए, जुन पूरा भएनन्। त्यसैले पनि राजीनामा दिएँ।’

उहाँले महानगरभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तर सुधारको सन्दर्भमा मेयर साहसँग कुरा मिले पनि कानूनी र नीतिगत केही विषयमा विवादसमेत भएको बताउनुभयो । मेयर साहले सामाजिक सञ्जाललाई आधार मानेर काम गरेको देख्दा आफूलाई चित्त नबुझेको उहाँको भनाइ छ। पछिल्लो समय मेयर साहले भारतीय चलचित्र ‘आदिपुरुष’ र त्यससँगै समग्र हिन्दी चलचित्र चल्न नदिने भन्दै उठाएको कदम आफूलाई चित्त नबुझेको अर्यालले बताउनुभयो ।

अर्यालको पृष्ठभूमि सिनेमा क्षेत्रमा पनि जोडिएको छ। उहाँको तथा परिवारको क्युएफएक्समा लगानी पनि छ। मेयर साहले हावाको भरमा सिनेमा क्षेत्रमा लिएको कदम चित्त नबुझेपछि अर्याल राजीनामा दिने निर्णयमा पुगेको बताउनुभयो ।

‘शिक्षासँग सम्बन्धित विषयमा मेयरसापको शैली ठीक थियो, तर नगर प्रहरीले फुटपाथ व्यापारीमाथि बुट प्रहार गरेको व्यवहार मलाई चित्त बुझेन,’ उहाँले भन्नुभयो, ‘मेयरसापसँग सार्वजनिक शिक्षाको सुधारमा केही कुरा मिल्यो, स्कुलभन्दा बाहिर गरिने काममा मेयरसाप र नगर प्रहरी हाबी भए, कतिपय विषयमा कागजी प्रक्रियाबिनै नगर प्रहरी र मेयरसापले कदम चाल्ने व्यवहार मन परेन,’ उहाँले भन्नुभयो, ‘यस्ता कुरामा मैले विमति जनाउँदै आएकी थिएँ। तर सुनुवाइ नै भएन।’

अर्याल शिक्षाविद् हुनुहुन्छ । उहाँले सार्वजनिक शिक्षा तथा टिच फर नेपालमा बसेर लामो समय काम गर्नुभएको छ । महानगरले गत भदौमा अर्याललाई मेयर साहको शिक्षा सल्लाहकारका रूपमा नियुक्त गरेको थियो।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस