२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अदालत र सरकार भारतको गुलाम, भारतीय फिल्म चल्न दिन्नँ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताउनुभएको छ ।

उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अदालतले आदेश दिएको केहीबेरमा नै सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले भारतीय फिल्मको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार हुने बताउनुभयो । उहाँले अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको आरोपसमेत लगाउनुभयो ।

बालेनले लेख्नुभएको छ, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउनुभएको थियो । बालेनको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस