२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रेमपछि अदालतमा बिहे गरेका दलित युवालाई जेल, जन्मदर्ता किर्ते गरेर युवती नाबालिग भनियो

काठमाडौं । गैरदलित युवतीसँग प्रेमविवाह गरेकै कारण सप्तरीको विष्णुपुर गाउँपालिका– ६ का मनोजकुमार राम अहिले अपहरण मुद्दामा कारागारमा कैद भएका छन् । अदालतमा प्रक्रिया पूरा गरेर विवाह गरेका मनोजकुमारलाई फसाउन गरेको प्रपञ्च सुन्दा तपाइ नै छक्क पर्नुहुनेछ ।

उनले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसरसँग ०७९ कात्तिकमा प्रेमविवाह गरेका थिए । तर, केटी पक्षले ‘पानी पनि नचल्ने’ केटा भन्दै बबिताको किर्ते जन्मदर्ता बनाएर मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दायर गर्‍यो । त्यसकै आधारमा सप्तरी जिल्ला अदालतले मनोजलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । जब कि कपिलवस्तु जिल्ला अदालतले मनोज र बबितालाई विवाह दर्ताको प्रमाणपत्र दिइसकेको छ ।

‘कोर्ट म्यारिज’ गरेपछि मनोज र बबिता आफै उपस्थित भएर कपिलवस्तु जिल्ला अदालतका कर्मचारीबाट विवाह दर्ताको प्रमाणपत्र बुझेका थिए । पछि बबिताको परिवारले असहमति जनाएपछि गत वर्ष लक्ष्मीपूजाको चार दिनअघि उनीहरूले स्थानीय मन्दिरमा विवाह गरेका थिए । त्यसलाई कानूनी मान्यता दिन गत २१ जेठमा कपिलवस्तु जिल्ला अदालतमा उनीहरूले ‘कोर्ट म्यारिज’ गरे । दुवैको उमेर २१–२१ वर्ष भएकाले अदालतले बिहेलाई कानूनी मान्यता दिँदै प्रमाणपत्र दियो । तीन वर्ष प्रेम–सम्बन्धमा रहेपछि उनीहरूले विवाह गरेका थिए । तर, ‘कोर्ट म्यारिज’ गरेको दुई दिनपछि २३ जेठमा सप्तरी जिल्ला अदालतले मनोजलाई कारागार चलान गर्न आदेश दियो ।

बबिताका बुबा ललित इसरले जिल्ला प्रहरी कार्यालयमा मनोजविरुद्ध अपहरण तथा शरीर बन्धक बनाई छोरी बेपत्ता बनाएको मुद्दामा जाहेरी दर्ता गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालयले मनोजकुमार राम, उनका बुबा जितु, दाजु रूपेशकुमार र सञ्जयकुमारमाथि व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्‍यो । न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले मनोज र उनका दाजु रूपेशकुमारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । उनीहरुले युवती नाबालिग देखाउन अस्पतालको रेकर्ड देखि जन्मदर्ता समेत किर्ते गरेका पाइएको छ । तर अदालतले त्यो कागजलाई वास्तै नगरी कारागार चलान गर्यो । हेर्नुहोस् प्रमाण

 

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस