२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले मुलुक हाँक्न सकेन, विकल्पको ढोका खुलिसकेको छ : एमाले प्रचार प्रमुख गौतम

काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख राजेन्द्र गौतमले बर्तमान गठबन्धन सरकारले मुलुक हाँक्न नसकेको कारण बिकल्पको ढोका खुलिसकेको बताउनु भएको छ । प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समिकरणको बिषयमा दोस्रो तहका नेताहरु बार्तामा रहेको समारचा आइरहेको बेला प्रचार प्रमुख गौतमले यस्तो बताउनु भएको हो ।

प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले आज आयोजना गरेको अन्तर सम्वादमा बोल्दै गौतमले एमाले सरकार परिवर्तनको खेलमा नलाग्ने प्रष्ट नीतिका साथ अघि बढेको भएपनि सरकार मुलुक हाँक्न नसक्ने प्रमाणित भएकोले बिकल्प खोज्नुपर्ने बताउनु भयो । ‘सरकार परिवर्तनको खेलमा हामी छैनौं, तर सरकार आफै असफल सावित भइसकेकोले जनताले सरकार परिवर्तनको बहस प्रारम्भ गरिसकेका छन,’ गौतमले भन्नुभयो, ‘एमाले सरकार परिवर्तनको खेलमा लाग्दैन । मुलुक असफल बन्दा हामी टुटुटुलु हेरेर बस्न सक्दैनौं । मुलुकलाई निकास दिन सरकारको नेतृत्व गर्नुपरे एमाले तयार छ ।’

बतृमान सरकार पूर्णरुपमा असफल भइसकेको बताउँदै नेता गौतमले सरकारले कुनै पनि जनपक्षीय काम गर्न नसकेको बताउनुभयो । ‘बाढीपहिरोका कारण धनजनको क्षति भएको छ । त्यसको उद्दार, खोजी, राहत, उपचार, पुनस्थापना गर्ने कुरामा सरकार मौन छ’, गौतमले भन्नुभयो, ‘सरकारसँग जवाफदेहिता छैन, सरकार मौन छ । चौतर्फि गम्भीर मानवीय प्रश्न उठेका छन । जनता नै सरकारको विकल्पको पक्षमाा छन् ।’ उहाँले समाजवादी मोर्चालाई कांग्रेस तर्साउने खेलको संज्ञा दिनुभयो । ‘समाजवादी मोर्चा कांग्रेस तर्साउने गोटी हो । कांग्रेसभित्र सरकार परिवर्तनको बहस प्रारम्भ भएसँगै सरकारको बार्र्गेनिङ गर्न मोर्चा निर्माण गरियो । यस्को गन्तव्य र भविष्य छैन । शक्ति कमजोर हुँदै जाँदा मोर्चाहरु बन्छन् । यस्ता मोर्चा जनताको पक्षमा रहदैनन ।’

गठबन्धनलाई विचार शुन्यताको भिडको संज्ञा दिँदै गौतमले निश्चित विचार र गन्तव्य नहुँदा सरकार पूर्ण असफल भएको बताउनुभयो । एमाले संविधानको पूर्ण कार्यान्वयनको पक्षमा रहेको भन्दै गौतमले सरकार संविधान विपरितका गतिविधि सञ्चालनमा लागेको बताउनुभयो । ‘संविधानमा समाजवादसम्मको यात्रा तय गरिएको छ । सरकारका गतिविधि समाजवाद उन्मुख देखिएका छैनन्’, गौतमले भन्नुभयो, ‘एमालेले समाजवाद उन्मुख नीति तर्जुमा गरेर कार्यसम्वाद प्रारम्भ गरेको थियो । जनता आवास कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता जनपक्षीय कार्यक्रम सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका थियौं ।’ गठबन्धनको पैजामा बोकेर आयु लम्बाउने खेलमा सरकार लागेको भन्दै नेता गौतमले जनआकांक्षा पुरा गर्नतर्फ सरकार नलागेको बताउनुभयो ।

प्रधानममन्त्रीको भारत भ्रमणले मुलुकको सार्वभौमसत्ता कमजोेर भएको ठोकुवा गर्नुभयो । ‘प्रधानमन्त्रीको भारत भ्रमण पूर्णरुपमा असफल भएको छ । जसले मुलुकको सार्वभौमसत्ता कमजोर भएको छ । अबको दशवर्षसम्म भारतको परामर्श विना कुनै पनि जलविद्युत आयोजना सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको छ,’ उहाँको भनाई थियो ।
एमालेको मुख्य एजेण्डा सरकार नभई २०८४ को निर्वाचन रहेको भन्दै गौतमले यसैको तयारी स्वरुप आफ्ना गतिविधि अगाडि बढाएको बताउनुभयोे । ‘मिसन ग्रासरुट अभियानको सुझावस्वरुप पार्र्टीको बैठकबाट पार्टीका संरचनामा जिम्मेवारी र कार्यक्षेत्र हेरफेर गरिएको छ । पार्टीका अभियानलाई एकै दृष्टिकोण र एकै लयका साथ देशैभर फैलाउने तयारीमा छौं’, गौतमले भन्नुभयो, ‘एमालेको कार्यविभाजन नेपालको राजनीतिक इतिहासमै नौलो अभ्यास हो । हामी जनताको घरदैलोसम्म पार्टीको विचार पु¥याउने तयारीमा छौं ।’ पार्टी प्रचारको आगामी कार्यदिशाका बारेमा लामो समयसम्म विभिन्न बहस र छलफल गरेर प्रारम्भिक कार्ययोजना निर्माण गरेर सुझावका लागि पठाएको भन्दै उहाँले पार्टीको सञ्चार नीति तयार पारेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपालले नियमित अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । राजनीतिक, सामाजिक, आर्थिकलगगायत विविध विषयमा संवाद गर्नेका थलोका रुपमा प्रेस चौतारी नेपाललाई स्थापित गर्ने अध्यक्ष बस्नेतको भनाइ थियो ।

 

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस