२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेदरल्यान्ड्ससँग नेपालको नमिठो हार, सुपरसिक्समा पुग्न असफल

nepal vs netherlands live

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा पराजित भएसँगै नेपालले सुपरसिक्समा पुग्न अफफल भएको छ। यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना पनि सकिएको छ।

शनिबार जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गरेको नेपाललाई नेदरल्यान्ड्सले ७ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७.१ ओभरमै पूरा गर्‍यो।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले अर्धशतक प्रहार गरे। उनले ९० रनको योगदान दिए। गुल्सन झाबाट बोल्ड हुनुअघि उनले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

यस्तै डि लीडले नटआउट ४१ रन जोडे। उनले ३९ बलमा ६ चौका प्रहार गरे। त्यसअघि सन्दीप लामिछानले ब्रिकमजित सिंहलाई ३० रनमा एलबिडब्लूको धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। सन्दीपले दोस्रो विकेट लिने क्रममा नेदरल्यान्ड्सका वेस्ली बारेसीलाई ३ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्यच गराए। सन्दीपले १० ओभरमा २ विकेट लिँदा ६० रन खर्चिए।

त्यसअघि नेपाल ४४.३ ओभरमा १६७ रनमै अलआउट भयो। नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले तेस्रो ओभरदेखि विकेट गुमाउन सुरू गरेको थियो।

नेदरल्यान्ड्सको तीव्र गतिका बलरसामू नेपाली ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन्। ओपनिङ ब्याट्सम्यान आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा भान वीकबाट शून्यमा बोल्ड भए। सुरुवातमै दबाबमा परेको नेपालका ओपनर कुशल भुर्तेल १४ ओभरसम्म टिके पनि १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए। २७ रन जोडेर आउट हुनुअघि उनले ४२ बलमा २ चौका हिर्काए।

दुई ओभरपछि आरिफ शेख ६ रनमा बिक्रमजितकै बलमा भान वीकबाट क्याच भए। यस्तै भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा आउट भए। केहिबेर कप्तान रोहित पौडेलसँग साझेदारी गर्दा १ छक्का हिर्काएका कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किए।

कप्तान रोहित पौडेल छैटौं विकेटको रुपमा ३२औं ओभरमा ३३ रनमा आउट भए। रोहितले आउट हुनुअघि ५५ बलमा ३ चौका र १ छक्का हिर्काए। दीपेन्द्रसिंह ऐरी १४ रनमा भान वीकको बलमा आउट भएपछि नेपालको इनिङ संकटमा परेको थियो। सन्दीप लामिछानेसँग आठौं विकेटका लागि ३२ रनको साझेदारी गरेका गुल्सन झा ४२औं ओभरमा १५ रनमा डि लीडको बलमा विकेट पछाडि समातिए। चार बलपछि करण केसी १ रनमा उस्तै अवस्थामा क्याच हुँदा नेपालको नवौं विकेट गएको थियो।

सन्दीप लामिछाने ३३ बलमा ४ चौकाको मद्दतमा २७ रन जोड्दा नेपालले १५० रन कटाएको थियो। बलिङमा नेदरल्यान्ड्सका भान वीकले ४ विकेट लिए। डि लीड र बिक्रमजितले २-२ विकेट हात पारे।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोड्यो। तेस्रो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग निडर प्रदर्शन गरेको नेपाल १०१ रनले पराजित भयो। चौथो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको शीर्ष तीनमा पर्ने सम्भावना सकियो। नेपालले चार खेलबाट २ अंक मात्र जोड्न सक्यो।

नेपालको सुपरसिक्स सम्भावना सकिएसँगै समूहबाट वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन्।। पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्। सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

 

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस