२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मधेशमा नागरिकता लिनेहरुको भीड, तर यति धेरै कागज चाहिँदा धेरै रित्तै फर्किन्छन्

जनकपुरधाम । नागरिकता विधेयक प्रमाणीकरण कार्यान्वयनमा आएसँगै जिल्ला प्रशासन कार्यालयहरुले जन्मको आधारमा नागरिकता वितरण गर्ने प्रक्रिया सुरु गरेका छन् । नागरिकता लिन ठूलो भीड लागेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा जन्मका आधारमा नागरिकता लिनेहरुको भीड नै थियो । तर, आवश्यक प्रक्रिया पूरा गरेकाले पाँच जनाले मात्रै जन्मको आधारमा नागरिकता पाए ।

धनुषाबाट नागरिकता लिएका पाँच जना एकै परिवारका हुन् । नागरिकता पाउनेमा गणेशमान चारनाथ नगरपालिका– ३ का इन्द्रजीत साफी, उहाँका दुई भाइ र उहाँकै काकाका छोरा हुनुहुन्छ ।

३१ वर्षीय साफीले लामो प्रतीक्षापछि नागरिकता पाएकोमा खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकताविना कुनै काम भइरहेको थिएन । यो समस्या समाधान गरेर वर्तमान सरकारले ठूलो काम गरेको छ । प्रधानमन्त्री र राष्ट्रपतिलाई धन्यवाद ।’

जन्मको आधारमा नागरिकता लिन लामो प्रक्रिया पूरा गर्नुपर्छ । जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको सूचनाअनुसार १४ किसिमका कागजात पुर्‍याएपछि मात्रै जन्मको आधारमा नागरिकता पाइन्छ । सो कागजात पुर्‍याउन नसकेका सयौं व्यक्ति खाली हात घर फर्केका छन् ।

धनुषाको बरमझियाका २३ वर्षीय अमरकुमार कापरले प्रहरी रिपोर्ट नभएको भन्दै कर्मचारीले फर्काएको बताउनुभयो । भोलि प्रहरी रिपोर्ट बनाएर ल्याउने उहाँले सुनाउनुभयो ।

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फारम भर्नुपर्छ ।

त्यस्तै बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा तथा नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपि, बाबु र आमाको मतदाता परिचयपत्रको प्रतिलिपि, स्थानीय तहबाट स्थानीय बसोबास प्रमाणित–किटानी सिफारिसको प्रतिलिपिलगायतका कागजात आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै पारिवारिक विवरण, बुबाआमाको विवाह दर्ता–विवाह प्रमाणित प्रतिलिपि, बुबा र आमाको मृत्यु भएको भए मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुबा र आमा वा सन्तानको नामको जग्गाधनी प्रमाण पुर्जा, मोहियानी हकको प्रमाणपत्र भए सो प्रमाण, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, विद्युत–खानेपानीरटेलिफोनको बिललगायतका अन्य कागजात, घरधुरी प्रमाण पुर्जा तथा नक्सा पास र स्वीकृतिको प्रतिलिपि, कम्तिमा २ जना वडा सदस्यसहित छिमेकीहरु गरी ५ जनाको वडा मुचुल्का र २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा पनि पेश गर्नुपर्ने भनिएको छ ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस