२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

काठमाडौं । काठमाण्डाै महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले आज आइतवार नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०८० मा याे व्यवस्था गरेको छ ।

विधेयकअनुसार कुनै व्यक्ति, संस्था, कम्पनी वा फर्मले आफ्नो सेवा वा वस्तुको बिक्री वितरण वा प्रवर्धन गर्न पसल व्यवसायको पहिचान वा परिचयका लागि सञ्चालन भएको ठाउँमा बढीमा ३० वर्ग फुटसम्मको विज्ञापन बोर्डलाई परिचयपाटी (साइनबोर्ड) को रूपमा राख्न दिइनेछ । त्यस्तो विज्ञापनमा पनि करको दर तोकिएको छ ।

जसअनुसार १५ वर्ग फुटसम्मको साइनबोर्डका लागि एक हजार रुपैयाँ कर तिर्नुपर्नेछ । यस्तो साइनबोर्ड एउटा पसलमा एउटामात्रै राख्न पाइनेछ । फ्लेक्स बोर्डबाट तयार गरिएको विज्ञापन सामग्रीको प्रतिवर्ष प्रतिवर्ग फुट एक हजार रुपैयाँ विज्ञापन कर तोकिएको छ । त्यस्तै डिजिटल बोर्ड, ग्लो साइनबोर्ड, स्टिकरबाट गरिने विज्ञापन प्रचार सामग्री, नियोन साइन र यस्तै विज्ञापन प्रचार सामग्रीको प्रतिवर्ष प्रतिवर्ग फुट एक हजार रुपैयाँ विज्ञापन कर तोकिएको छ ।

गाडीकाे दायाबायापट्टीको भागमा अधिकतम २० वर्ग फुटसम्मको अस्थायी प्रकृतिको बोर्ड राखी गरिने विज्ञापनका लागि प्रतिदिन एक सय रुपैयाँ विज्ञापन कर तोकिएको छ । गाडीमा स्थायीरूपमा लेखिएको वा छापिएको प्रचार सामग्रीका लागि प्रतिवर्ष प्रतिवर्ग फुट तीन सय रुपैयाँ कर तोकिएको छ ।

खेलकुद मैदान र यस्तै प्रकृतिका अनुमति लिएर गरिने कार्यक्रममा गरिने विज्ञापनबापत सम्बन्धित आयोजकबाट पहिलो दिन १० हजार र त्यसपछिको प्रत्येक दिन पाँच हजार रुपैयाँ विज्ञापन कर तोकिएको छ ।

बेलुन, ज्याकेट, साइकल, मोटरसाइकलमा प्रयोग गरी गरिने विज्ञापन वा डमी एवम् सेग्वे तथा ‘ह्युमन बिलबोर्ड’ द्वारा गरिने प्रचारमा प्रतिगोटा प्रतिदिन पाँच सय रुपैयाँ कर तोकिएको छ । यसरी गरिने विज्ञापनका लागि एक पटकमा अधिकतम सात दिनका लागि अनुमति प्रदान गरिने जनाइएको छ ।

झोलाद्वारा गरिने विज्ञापन वार्षिकप्रति झोला एक सय रुपैयाँ कर तिर्नुपर्नेछ । सार्वजनिक ठाउँबाट नदेखिने गरी मल, चलचित्र भवनलगायतका व्यावसायिक भवनभित्र विज्ञापन प्रचारप्रसारका लागि राखिएको विज्ञापन सामग्रीको प्रतिवर्ग फुट पाँच सय रुपैयाँ कर तोकिएको छ ।

अधिकतम २५ वटा अक्षरसम्म मात्र लेख्न पाइने गरी धातु वा सिमेन्टबाट बनेको अक्षरबाट लेखिएको परिचय पार्टीका लागि वार्षिक एक हजार रुपैयाँ विज्ञापन कर तोकिएको छ ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस