२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रकाशशरणको ठाउँमा म अर्थमन्त्री भएको भए धादिङमा बजेट ओइराउन मिल्ने रहेछ : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री र सांसदहरूको निर्वाचन क्षेत्र बराबर भए पनि त्याेअनुसारको बजेट विनियोजन हुन नसकेको बताउनुभएको छ ।

आइतवार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै उपाध्यक्ष पाण्डेले सरकारले बजेट बनाउँदा एक सय ६५ निर्वाचन क्षेत्रका सांसदहरूलाई समानुपातिकरूपमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले आफूहरू सत्तापक्षको भए पनि सरकारले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्र केन्द्रित बजेट ल्याएकाे भन्दै बजेट कुनै पनि हालतमा पास गर्न नसकिने बताउनुभयाे । पाण्डेले बजेट आफ्नो क्षेत्रमा लैजानका लागि मन्त्री नै हुनुपर्ने अवस्था वर्तमान सरकारले देखाएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘बजेट निर्माणमा सांसदहरूको भूमिका खोइ भनेर मैले खोजेको हो । मैले प्रधानमन्त्री र शेरबहादुर देउवासँग सोधेँ– तपाईँहरूलाई भोट हाल्ने नागरिक र मलाई भोट हाल्ने नागरिकमा फरक के छ ? तपाईँको निर्वाचन क्षेत्रमा ५५ करोड जाने, अर्कोको निर्वाचन क्षेत्रमा एक सय १० करोड जाने तर मेरो क्षेत्रमा चिल्लै हुने ? यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । अहिले बजेट टाइप म्यान र बिचौलियाले हाल्छन् । बाटोमा यति खर्च गरे बजेट पारे भन्दै हिँड्छन् । मन्त्री भएपछि आफ्नो क्षेत्रमा बजेट झ्याप्प हाल्न पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने रहेछ । प्रकाशशरणको ठाउँमा म अर्थमन्त्री भएको भए धादिङमा बजेट ओइराउन मिल्ने रहेछ ।’

उपाध्यक्ष पाण्डेले एक सय ६५ निर्वाचन क्षेत्रका सांसदहरूको संयोजकत्वमा सम्बन्धित मन्त्रालयले बजेट बनाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस