२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रहरी जवानदेखि हवल्दारलाई १६ वर्षमा अवकाश : गृहमन्त्री श्रेष्ठ

Narayan Kaji Shrestha

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका जवान–हवल्दारलाई १६ वर्षमै अवकाश दिने प्रस्ताव गर्नुभएको छ । उहाँले आइतबार प्रतिनिधि सभा सदस्यको बैठकमा बोल्दै प्रहरी जवान, प्रहरी सहायक हवल्दार र प्रहरी हवल्दारलाई १६ वर्षमै अवकाश प्राप्त हुने व्यवस्था प्रस्ताव गरिएको बताउनुभयो ।

यस्तै असई र सईको हकमा भने १८ वर्षमा अवकाश लिने र २० वर्षमा पेन्सन लिनसकिने व्यवस्था गर्न लागिएको बताउनुभयो । ‘१६ वर्ष सेवा अवधि पुगेका जवान, सहायक हवल्दार र हवल्दार सम्मलाई २० वर्षमा पेन्सन लिने गरी १६ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने, १८ वर्ष सेवा अवधि पुगेपछि असई र सईहरूलाई रिटायरमेन्ट दिने र २० वर्ष पुग्दा पेन्सन दिने व्यवस्था लागु गर्ने बारेमा गृहमन्त्रालयले आफ्नो तर्फबाट यसअघि नै प्रस्ताव सरकारको अन्य सम्बन्धित मन्त्रालयमा पठाइसकेको छ,’ उहाँले भन्नुभयो ।

प्रहरीको जवान देखि सई सम्मका वर्षौं सम्म एउटै पदमा बसिरहनुपर्ने बाध्यता भएको बताउँदै यस्तो व्यवस्था ल्याउन लागेको उहाँको भनाई छ । माथिल्लो दर्जाका प्रहरीहरू एसएसपी देखि आइजिपीसम्म ९ महिनामै हुने बताउँदै तल्लो दर्जाका प्रहरीहरू भने १८–१९ वर्षसम्म पनि एउटै दर्जामा बस्न बाध्य भएको उहाँले बताउनुभयो ।

‘प्रहरी संगठनभित्र विशेषत प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई, सईहरूको प्रोत्साहनको व्यवस्था राम्रो छैन। उहाँहरूको पदोन्नतिको व्यस्था राम्रो छैन,’ उहाँले भन्नुभयो, ‘र तपाईं हामीले यहीँ देखिराखेका छौं। ९ महिनामा एसएसपीबाट डिआइजी, डिआइजीबाट एआइजी र एआइजीबाट आइजिपी हुने माथिल्लो तहको त्यसप्रकारले हुने गरेको छ भने १८–१९ वर्षसम्म एउटै पदमा जवानमा रहिरहेको, हवल्दारमा भइरहेको, असई भइरहेकाले पीडित अवस्थामा हुनुहुन्छ ।

उहाँले पूर्वगृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक समेतले सुझावहरू दिएको बताउनुभयो । जसअनुसार प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने पनि बताउनुभयो । उहाँले सर्वोच्चको आदेश अनुसार कानूनमै व्यवस्था गर्न मस्यौदामा प्रस्ताव गरिसकेको पनि बताउनुभयो । उक्त कानूनलाई पनि प्रतिनिधि सभामै ल्याइने गृहमन्त्री श्रेष्ठको भनाई थियो ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस