२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पशुपतिनाथ मन्दिरको जलहरी जोख्न पुग्यो अख्तियारको टोली

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर परिसरमा पुगेर गर्भगृहमा दुई वर्षअघि राखिएको सुनको जलहरी नापजाँच गर्न थालेको छ । आइतबार दिउँसो अख्तियारको टोली पशुपति मन्दिरमा पुगेको छ । अख्तियारको टोली पुग्नुअघि पशुपतिनाथ मन्दिर क्षेत्रबाट भक्तजनलाई बाहिर निकालिएको थियो ।

चाँदीको जलहरी पुरानो भएपछि दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिको मूर्तिमा सुनको जलहरी राख्ने विवादास्पद निर्णय गरेको थियो । १०८ किलो सुन किनेको पशुपति क्षेत्र विकास कोषले करिव १०६ किलो सुनमात्रै खपत गरेको भनी उजुरी परेपनि अख्तियारले यो विषयमा अनुसनधान अघि बढाएको थिएन । त्यही उजुरी अनुसन्धानका क्रममा अख्तियारले जलहरी जाँच्न थालेको हो ।

अनुसन्धानका क्रममा अख्तियारको टोलीले पशुपति मन्दिरबाट जलहरी निकाल्नेछ । मन्दिर परिसरमा ल्याएर नापजाँच गर्नेछ । करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ । नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरुलाई राखिएको छ ।

पशुपतिमा जलहरी निर्माणका लागि लागत स्टिमेट तयार गर्दा १०८ किलो सुन लाग्ने अनुमान भएको थियो । सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । पशुपति क्षेत्र विकास कोषले पनि सर्वोच्च अदालतमा पठाएको जवाफमा १०३ किलो ७७३ ग्राम सुन किनेको भनी उल्लेख छ ।

 

१२ फागुन २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी निर्माण गरी राखिएको भन्ने व्यानर नै तयार गरिएको थियो । पशुपति क्षेत्र विकास कोष सम्बद्ध स्रोतका अनुसार, जलहरी निर्माणका लागि करिव एक सय किलो सुन लाग्ने भएपनि १०८ किलो चाहिने भनी निर्णय भएको थियो ।

सुन कमलो हुने भएकाले त्यसमा अरु धातु र रसायनको समिश्रण गरियो । २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम तामा, १२ ग्राम जिंक समेत गरी १०७ किलो ९२४ ग्राम सुन कायम गरियो । १०८, १००८ जस्ता अंश शुभको प्रतिक मानिने भएकाले १०८ किलो सुन पुर्‍याइएको थियो । सुनका बारेमा प्रश्न उठेपछि कोषका पदाधिकारीले भने रिङ बनाएर पशुपतिनाथको मूर्तिलाई पेटी बनाएर बाँधिएको भनी जवाफ दिएका थिए ।

पछि माइन्यूटमा ‘साथै बाँकी रहेको सुन पशुपतिनाथलाई पेटी र रिङ बनाएर चढाइयो’ भनी थपिएको थियो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले संसदीय समितिमा समेत सुन कतै नहराएको दावी गर्दै आफूलाई मृत्युदण्ड समेत स्वीकार हुने बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘जुन सुन हरायो भनिएको छ, त्यो भगवान पशुपतिनाथले पेटी र जलहरी पहिरिएर बस्नुभएको छ । अलिअलि बाकी रहेको सुन जोख्नुपर्ने छ ।’ केही दिनअघि संसदीय समितिको बैठकमा प्रतिक्रिया दिने क्रममा उहाँले पशुपतिको सुन नहराएको र आफूले नमासेको भन्दै आशु खसाल्नुभयो । उहाँहरुले यो विषय मुचुल्का लगायत अरु कुनैपनि कागजातमा उल्लेख गर्नुभएको छैन । महालेखा परीक्षकको कार्यालयले दुई वर्षअघि आफ्नो प्रतिवेदनमा भनेको थियो, ‘जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।’

त्यसमा १० किलो ९७६ ग्राम सुन बचेको थियो । त्यतिबेलाको बिनिमयदर अनुसार सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ थियो । व्यापारीहरुसँग सुन किन्ने योजना बनेकोमा पछि सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र प्रकाशित गर्नुपर्ने भएपछि सोझै राष्ट्रबैंकबाट सुन खरिद भएको थियो ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस