२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

३१ बर्षमा बल्ल नागरिकता पाउँदा: अब मेरा छोराहरु पनि नेपाली नागरिक भए भन्दै आमाका आँशु खसे

जनकपुरधाम । ‘अब हमर बेटासभ नेपाली नागरिक भगेल’ चार छोराले आइतबार नागरिकता पाएपछि धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ भरतपुरकी सोनावती साफीका खुशीले आँशु खसे । ३१ बर्षसम्मपनि छोराहरुले नागरिकता नपाउँदाको पीडा सम्झिएर उहाँ भावुक बन्नुभयो । तर यो क्षण खुशीको हो भन्दै खुशी साट्नुभयो, ‘बेटा सभके चेहरा देखक हमरा निक से अन्न नै रुचैछल । न त राइतमे निक स निन्द लगेछल । अखनके खुसीके हम वर्णान नै कसकैछी ।’

आफूसँग वंशजको नागरिकता भएपनि श्रीमानसँग जन्मसिद्द नागरिकता भएकै कारण सोनावतीले छोराहरुलाई नागरिकता बनाइदिन नसकेको स्मरण गर्नुभयो । नागरिकता नभएकै कारण चार वर्षअघि इन्जिनियरिङको पढाइ पूरा गर्नुभएका जेठो छोराले जागिर पाउनुभएको थिएन ।

वर्षौसम्म अनागरिक जस्तो भएर छोराहरुले व्यहोरेको पीडाले आमा सोनावतीलाई निकै पोलेको थियो । उहाँकै शब्दमा भन्दा छोराहरुको अनुहार देख्दा उहाँलाई राम्रोसँग खान रुच्दैनथ्यो, राति निद्रा लाग्दैनथ्यो । तर आइतबार छोराहरुले नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि खुशीले दंग हुनुभयो । उहाँले नागरिकताको प्रमाणपत्र बोकेका चार छोराहरुसँगै तस्वीर खिचाउनुभयो ।

उहाँका छोराहरु इन्द्रजीत (३१ बर्ष), रञ्जित (२९), छोटु (२२) र रविन (२१) ले आइतबार जिल्ला प्रशासन कार्यालय, धनुषाबाट नेपाली नागरिकता लिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालतले बाटो खोलेपछि साफी परिवार आइतबार जिल्ला प्रशासन कार्यालय, धनुषामा गएको थियो । उहाँहले आवश्यक कागजपत्र पेश गरेपछि प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस