२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली फिल्मले मात्र हल सुनसान, आइतबार १० प्रतिशतभन्दा तल अकुपेन्सी

काठमाडौं । यतिबेला नेपाली फिल्म हल सुनसान छन् । पछिल्लो सप्ताहन्त हलको कमाइको हिसाबले निराशजनक रह्यो । आइतबार देशव्यापी फिल्मको अकुपेन्सी पाँचदेखि १० प्रतिशत तल छ, जुन शून्यप्रायः हो । यो परिस्थितिका लागि तीन पक्ष जिम्मेवार छन् ।

पहिलो– प्रदर्शनरत ‘अन्तिम संस्कार’ र ‘नीरफूल’ले दर्शकलाई आकर्षित गर्न नसक्नु । दोस्रो– स्वदेशी होस् वा विदेशी कुनै पनि ठूला र नयाँ फिल्म रिलिज नहुनु र तेस्रो– भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भएको विवादको असर । हल सञ्चालकहरु यी तीन कारणले हलमा दर्शक नआएको बताउँछन् ।

‘जारी’पछि नेपाली बक्स अफिसमा अन्य फिल्म नचलिरहेको देखिएको छ । चलचित्र विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार रिलिज भएका फिल्मले निकै न्यून कमाइ गरिरहेका छन् । ‘आदिपुरुष’ विवादमा भारतीय फिल्मलाई रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयको असर पनि हलमा देखिएको सञ्चालक बताउँछन् ।

अदालतले आदिपुरुषको पुनः प्रदर्शनको बाटो खुला गरे पनि चलचित्र संघले नलगाउने निर्णय गरेको छ । पुनः रिलिज गरिएको ‘जरा हट्के जार बचके’ले दर्शकको प्राथमिकतामा परेको देखिएन । यस्तोमा दर्शक नआएपछि हलले केही शो स्थगित गरेका छन् भने केहीले १–२ प्रतिशतको अकुपेन्सीमै फिल्म देखाइरहेका छन् ।

‘आइतबारसम्म देशव्यापी फिल्मको अकुपेन्सी १० प्रतिशतभन्दा तल छ । यो निकै निराशजनक अवस्था हो,’ दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका निर्देशक सुरेन्द्र थापाले भने । उता पोखराका हलले सोमबारदेखि भारतीय फिल्मको प्रदर्शन गर्ने तयारी गरेका छन् ।

मिडटाउन सिनेमाज् मल्टिप्लेक्सका निर्देशक निकेश द्धाले न्यून अकुपेन्सीमै भए पनि सोमबारदेखि फिल्म प्रदर्शन गर्ने बताए । ‘फिल्म नभएकाले सुरुमै न्यून अकुपेन्सीमा भए पनि देखाउने हाम्रो तयारी छ,’ निकेशले भने, ‘यसपटक नयाँ फिल्म पनि नहुनु र आदिपुरुष विवादको असर पनि देखिएजस्तो छ । लयमा आउन केही समय लाग्ला ।’

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस