२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गंगा स्‍नान गर्दै पूर्व मिस नेपाल मलिनाले भनिन्, अञ्जानमा गरेको पाप मात्र धुल्छन् रे गंगामा [ तस्वीर ]

काठमाडौं । आमालाई लिएर पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी तीर्थयात्राका लागि भारतमा छिन् । त्यहाँका तीर्थधामहरु यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको यात्रामा उनी छिन् । इन्स्टाग्राममा उनले पवित्र गंगानदीको उद्गमस्थल मानिने हारिद्धारमा पानीमा डुबुल्की लगाउँदै गरेको भिडियो सेयर गरेकी छन् ।

गंगा नदीमा डुब्दै पूजा गरेको उनको भिडियो क्याप्सनमा लेखिएको छ, ‘भन्छन् अन्जानमा गरेको पाप मात्र धुल्छन् रे गंगामा । जान बुझेर गरेको पाप त गंगामा पनि धुल्दैन रे । त्यसैले कसैलाइ जानीजानी गलत नगरौं । सबैलाई माया, इज्जत र सद्भावको रूपले हेरौं ।’

उनले उक्त भिडियोको पार्श्व गीतमा अरिजित सिंहको ‘हरहर गंगे’ समावेश गरेकी छन् । गंगामा डुब्दै उत्रिंदै गरेको भिडियोमा मलिना आकर्षक देखिएकी छन् । सुन्तला रङको साडीमा सजिएर उनले गंगामा स्नान गर्दै गरेको देख्न सकिन्छ । अर्को भिडियोमा चाहिं उनलाई आमासँग देख्न सकिन्छ । यो भिडियोको क्याप्सन छ, ‘म जीवनलाई जित्दैछु । एक गर्विली छोरी यो कुराको दाबी गरिरहेकी छे ।’

२०७० सालको फिल्म ‘कलिउड’मा केमियो भूमिका गर्दै फिल्म करिअर थालेकी मलिनाले अहिलेसम्म नौ फिल्ममा अभिनय गरेकी छन् । उनको पछिल्लो फिल्म ‘छक्कापञ्जा ४’ थियो, जहाँ उनले एक प्रहरी अधिकृतको भूमिकामा केमियो भूमिका निर्वाह गरेकी थिइन् ।

तस्वीर : मलिनाको इन्स्टाग्रामबाट

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस