२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेन शाहलाई आधार बनाएर फिल्म ‘मेयर साहेब’ निर्माण हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कार्यमा आधारित रहेर निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । मेयर भएपछि बालेनले गरेका कार्यहरुलाई समेटेर आफूले फिल्म निर्माण गर्न लागेको निर्देशक गिरीले घोषणा गरे । फिल्मको लोगो समेत सार्वजनिक गरिएको छ ।

‘बालेनजी मेयर भएपछि उहाँले गरेका सकारात्मक कार्यहरुलाई फिल्ममा समेट्ने छौं । यो फिल्मले देश परिवर्तनमा राम्रो सन्देश दिनेछ भन्ने आशा हामीले राखेका छौं,’ गिरीले भने । फिल्ममा समाजको लागि काम गर्दा उनले भोग्नुपरेका पारिवारिक चुनौतीलाई पनि कथावस्तुमा समेटिने उनले बताए ।

भदौ अन्त्यदेखि छायांकन सुरु हुने बताइएको यो फिल्मका कलाकार तय गर्न बाँकी छ । अहिले प्रि–प्रोडक्सन र पटकथा लेखनको कार्य भैरहेको छ ।

विनिता फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्ममा विनिता गुरुङ र मौसमी महर्जनको लगानी रहनेछ । फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती सिनेमाका सहनिर्माता हुन् । निर्देशक गिरीको अर्को फिल्म ‘नम्बरी सुन’ भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस