२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अलिबाबाका संस्थापक ज्याक मा किन आए नेपाल ? यस्ताे छ, ज्याक मा काे राेचक कहाँनी

काठमाडौं । ‘पृथ्वीको कारखाना’ भनिने छिमेकी चीनका सबैभन्दा प्रसिद्ध व्यवसायी ज्याक मा अहिले नेपाल आइपुगेका छन् । उनी बंगलादेशबाट नेपाल आएको र यहाँबाट पाकिस्तान पुग्ने योजना रहेको खबरहरु सार्वजनिक भएका छन् । ज्याक मा सहित ६ पुरुष र एक महिला गरी ७ जनाको टोली मंगलबार दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

नेपालले नयाँ बजेटमार्फत् प्रविधि क्षेत्रका विदेशी कम्पनीहरुलाई आफ्नो देशभित्र कारोबार गर्न पूँजीको सीमा हटाउने प्रस्ताव गरेकै बेला उनी काठमाडौंमा देखिएका छन् । ज्याक मा चिनियाँ प्रविधि क्षेत्रको सबैभन्दा उँचो नाम हो । अलिबाबा (कारोबार संख्याको हिसाबमा संसारकै सबैभन्दा ठूलो ई–कमर्श कम्पनी)जस्ता विशाल व्यापारिक साम्राज्य खडा गरेको उनी अहिले नेपाल किन आए ? स्पष्ट छैन ।

उनी झण्डै दुई वर्षको ‘अघोषित निर्वासन’ पछि तीन महिनाअघि मात्रै आफ्नो देश चीन फर्केका थिए । यसका पछाडी एक रोचक कहानी छ । सन् २०२० को नोभेम्बरमा एन्ट ग्रुप भनिने चीनकै अर्को कम्पनीले ३७ अर्ब डलरको आईपीओ निष्काशन गरेको थियो । त्यस समयसम्म यो संसारकै सबैभन्दा ठूलो आइपीओ थियो ।

तर अन्तिम घडीमा चिनियाँ नियामकले उक्त आईपियो रद्द गरिदियो । यस घटनालाई चीनको उच्च राजनीतिक नेतृत्व (सम्भवतः राष्ट्रपति सी चिनफिङ)को ‘दबाबमा भएको’ मानिन्छ । एन्ट ग्रुप अलिबाबा समूहकै एक कम्पनी थियो । संसारकै सबैभन्दा ठूलो डिजिटल (मोबाइल) भुक्तानी माध्यम ‘अलिपे’ को संस्थापक कम्पनी हो एन्ट ग्रुप ।

उक्त कम्पनीमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ज्याक माको मात्रै ५३.४६ प्रतिशत स्वामित्व थियो । तर आईपीओ रद्द हुनासाथ चिनियाँ केन्द्रिय बैंकले एन्ट ग्रुपमा कुनै एक व्यक्ति वा समूहको नियन्त्रण हुन नहुने भन्यो । त्यसपछि उनले आफ्नो सेयर बेचेर ६.२ प्रतिशतमात्रै बाँकी राखे ।

नियामक निकायहरुको यस्तो कामकारबाहीलाई लिएर उनले आलोचना गर्दै भाषण गरेका थिए । त्यसपछि उनी र उनका कम्पनीहरुमा राज्यको खोजतलासी बढ्यो । सरकारका अनेकौं जाँचबुझबाट हैरान भएपछि २०२१ को अन्त्यतिर उनले मुख्य भूमि चीन छाडेका थिए । त्यसपछि जापान, स्पेन, अस्ट्रेलिया र थाइल्याण्डमा रहेका उनका तस्वीरहरु सार्वजनिक भएका थिए ।

चीनका नवनियुक्त प्रधानमन्त्री ली छिआङले लामो समयदेखि उनलाई देश फर्कन आग्रह गर्दै आएका थिए । तीन महिनाअघि माको स्वदेश फिर्तिले चिनियाँ निजी क्षेत्र र प्रविधी क्षेत्रमा उत्साह जागेको खबरहरु छापिएका थिए । उनी चनि फर्केको खबर आएसँगै अलिबाबाको सेयर मूल्य एकै पटक ४ प्रतिशतले बढेको थियो ।

हारेका ब्यापारी

ज्याक माले एन्ट ग्रुपमात्रै होइन, संसारकै सबैभन्दा ठूलो (कारोबार संख्याका आधारमा) ई–कमर्श कम्पनी अलिबाबाको कार्यकारी अध्यक्षबाट पनि अवकाश लिएका थिए । उनले २०१९ मै अलिबाबाबाट अवकाश लिँदा ‘परोपकारमा लाग्नका लागि’ कम्पनीको सक्रीय भूमिका त्यागेको भनेका थिए ।

२०२० मा उनले अलिबाबामा रहेको आफ्नो स्वामित्व ६.२ प्रतिशतबाट घटाएर ४.८ प्रतिशतमा झारेका थिए । यद्यपि, अहिले पनि अलिबाबामा करीब २४ प्रतिशत स्वामित्व बोकेको सफ्ट बैंक ग्रुपपछि ज्याक मा नै सबैभन्दा ठूलो व्यक्तिगत सेयरधनि हुन् ।
सन् २०२० उनका लागि ‘अफाप सिद्ध’ भएको थियो । त्यसै साल उनले एन्ट ग्रुपबाट आफ्नो ठूलो हिस्सेदारी गुमाउनु पर्यो । ज्याक मा चनि फर्किए पनि चीनको निजी व्यवसायमा खासै फरक नपर्ने भनेर अन्तरराष्ट्रिय समाचार संस्थाले रोयटर्सले तीन महिना अघि लेखेको थियो ।

‘राज्यबाट उनले पहिले नै पिटाइ खाइसकेका छन्, चीनको वित्तीय प्रणालीमाथि थुप्रै पुस्तकहरु लेखेका एसिया विश्लेषक फ्रेजर होवीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘राज्यले जित्यो, ज्याकले आफ्नो नियन्त्रण, शक्ति एवम् सम्पत्ति गुमाए, र अब यो फिर्ता आउँदैन ।’

नेपाल भ्रमण

ज्याक मा र उनको टोली तीन दिनसम्म नेपालमा रहने भनिएको छ । उनको यस भ्रमणको उद्देश्य स्पष्ट छैन । अचेल उनी के कस्ता व्यवसायमा हात हालिरहेका छन् भन्ने खबरहरु पनि त्यत्ति बाहिर आएका छैनन् । तीन महिनाअघि उनी चीन फर्केपछि पहिलो पटक उनैले स्थापना गराएको एक विद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का बारे प्रवचन दिएको खबरहरु आएका थिए ।

दुई वर्षदेखि संसारका धेरै देश घुमिरहेका उनी अहिले भ्रमणका लागिमात्रै नेपाल आए वा उनको कुनै व्यवसायिक स्वार्थ छ भन्ने स्पष्ट छैन । हालै मात्र नेपालले प्रविधी क्षेत्रका कम्पनीहरुmाई २ करोड रुपैयाँको पूँजीको सीमा नलाग्ने गरी कानुन संशोधन गर्ने प्रस्ताव बजेटमा गरेको छ ।

उक्त प्रस्तावले कानूनी ढाँचा त तय गर्दैन, तर यसमा टेकेर अलिबाबा वा अमेजनजस्ता ई–कमर्श प्लेटफर्मलाई नेपालमा कारोबार गर्ने बाटो खोल्न सक्छ । त्यसो त, अलिबाबाले नेपालमा पहिले नै सञ्चालनमा रहेको दराज डटकमको सेयर किनेर आफ्नो उपस्थिति पहिले नै स्थापित गरिसकेको छ ।

करीब १३ वर्षअघि जर्मनीको भेञ्चर क्यापिटल रकेट इन्टरनेटले लगानी गरिदिएपछि मुनिव मायर र फारीस शाहले पाकिस्तानमा स्थापना गरेको दराजले बंगलादेश र म्यानमारमा पनि ब्यापार थालेको थियो । दराजले सन् २०१६ को जुलाईमा क्यामु भन्ने अर्को ईकमर्श सेवा प्रदायक खरीद गरेसँगै दराजको उपस्थिति नेपाल र श्रीलंकामा पनि पुगेको थियो ।

सन् २०१८ मा दराजको सबैभन्दा ठूलो सेयर मेलेसियाको कम्पनी एसियन इण्टरनेट होल्डिङसँग थियो । जे २०१८ मा अलिबाबाले पुरै सेयर किनेपछि दराजको पूर्ण स्वामित्व चिनियाँ जायन्ट कम्पनीसँग पुग्यो । त्यसताका अलिबाको कार्यकारी अध्यक्ष ज्याक मा नै थिए ।

यसले अहिले पनि बंगलादेश, नेपाल र पाकिस्तानको भ्रमण शिलसिलाले दराजका व्यावसायिक साझेदारीलाई हेर्ने कोसिस हुनसक्ने पनि देखिन्छ । यसको अर्को पाटो चाहीँ डिजिटल भुक्तानीसँग जोडिएको छ ।

गत जेठ १८ मा नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस प्रकारको अन्तरदेशीय भुक्तानीको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी भइरहेका खबरहरु पनि आएका छन् ।

यस्तो बेला संसारकै ठूलो विद्युतीय भुक्तानी प्रणालीको स्थापनामा सफलता हासिल गरेका ज्याक माको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेर्न पनि सकिन्छ । किन की, ज्याक मा स्वाभाविक रुपमा नेपाल घुम्नमात्रै आउने ब्यापारी होइनन् ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस