२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

शनिबारदेखि चितवन निकुञ्जभित्र जंगल ड्राइभ र डुंगा सफारी बन्द

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्न लागेको छ।

चितवन निकुञ्जले सूचना जारी गर्दै वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका स–साना खोला, खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुने औंल्याएको छ। त्यस्तै उसले मानवीय क्षतिसमेत हुनसक्ने कारणले जिप र डुंगा सफारी बन्द गर्न लागिएको बताएको छ।

वर्षाको मौसमलाई मध्यनजर गर्दै चितवन निकुञ्जले हरेक वर्ष केही समय यी गतिविधि बन्द गर्ने गर्छ। वनपथहरूमा जोखिम मत्थर भएपछि पुनः पर्यटन गतिविधिहरू सुरू हुन्छ।

यस आर्थिक वर्षको जेठसम्ममा चितवन निकुञ्जले पर्यापर्यटनको राजस्व वापत २२ करोड ७४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। जिप सफारीबाट ४ करोड ७३ लाख ८५ हजार र डुंगा सफारीबाट ३ लाख ५६ हजार राजश्व संकलन गरेको थियो। जेठसम्ममा २ लाख ८८ हजार ३५९ जना पर्यटकहरू चितवन निकुञ्ज प्रवेश गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । निकुञ्ज प्रवेश गर्ने पर्यटकको यो संख्या अहिलेसम्मकै बढी हो।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस