२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

Bangladesh Saff Championship semi final

बेंगलुरु । बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३–१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको हो ।

बंगलादेशले पछिल्लो पटक २००९ मा घरेलु मैदानमा भएको साफमा सेमिफाइनल खेलेको थियो । बुधबारको खेलमा भुटानले पहिले अग्रता लिए पनि बंगलादेशले पुनरागमन गर्दै जित निकाल्यो र ३ खेलबाट ६ अंक जोडेर समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनायो ।

आमन्त्रित टिम लेबनान तीनवटै खेल जित्दै ९ अंक जोड्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको छ । खेलको १२औं मिनेटमा तेसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर भुटानले अग्रता कायम राख्न सकेन । २१औं मिनेटमा शेद मोर्सालिनले बंगलादेशका लागि बराबरी गोल फर्काए । ३०औं मिनेटमा भुटानकै फुन्सो जिग्मेले आत्मघाती गोल गर्दा बंगलादेशले २(१ को अग्रता लियो । राकिब होसेनले ३६औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो हाफमै ३(१ को अग्रता दिलाए । त्यसपछि दुवै तर्फबाट गोल भएन ।

बंगलादेशको जितपछि समूह चरणका खेलहरु सकिएका छन् र सेमिफाइनल समीकरण तय भएको छ । पहिलो पटक साफ खेलिरहेका आमन्त्रित टिमद्वय लेबनान र कुवेतसहित घरेलु टोली भारत र बंगलादेशले यसपटक सेमिफाइनल खेल्नेछन् ।

अब समिफाइनलमा बंगलादेशले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । कुवेत भारतलाई पछि पार्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यस्तै समूह ‘बी’ को विजेता लेबनानले भारतसँग खेल्नेछ । दुवै सेमिफाइनल खेल आगामी शनिबार हुनेछन् । फाइनल खेल भने आगामी मंगलबार हुनेछ ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस