२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

निजी स्कूलका शिक्षकलाई सरकारी सरह तलब दिन मेयर बालेनको निर्देशन, अन्यथा कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले निजी स्कूलका शिक्षकलाई सरकारी सरह तलब दिन निर्देशन दिनुभएको छ ।

मेयर साहले बिहीबार सामाजिक सञ्जाल मार्फत  काठमाडौं महानगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयका शिक्षकले पाइरहेको तलबको तथ्याङ्क सार्वजनिक गर्दै निजी विद्यालयका शिक्षकलाई पनि त्यही अनुसार तलब दिन भन्नुभएको हो । मेयर साहले भन्नुभएको छ, “काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयका शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयलाई सूचित गरिन्छ।”

निजी स्कूलका शिक्षकले सामुदायिकभन्दा कम तलब पाएको गुनासो आएको उहाँले जनाउनुभएको छ । कानून अनुसार निजी स्कूलका शिक्षकले पनि सामुदायिक सरह तलब पाउनुपर्ने उहाँको जिकिर छ ।

“शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयका शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ,” मेयर साहले भन्नुभएको छ, “यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलबभत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।”

सरकारी सरह तलब नपाएमा सम्पर्क गर्न पनि निजी स्कूलका शिक्षकलाई आग्रह गर्नुभएको छ । मेयर साहले भन्नुभएको छ, “निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौं।”

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस