२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यौन रोग के हो र कसरी सर्छ ?

–डा. उत्सव शर्मा । नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म सबैतिर यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ । मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ । यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छौं ।

नेपालमा सिफिलिस, गोनेरिया, क्याइमेरिया र कहिलेकाँही जेनाइटल हर्पिसको समस्या देखिन सक्छ । त्यसैगरी जेनाइटल वार्ट भनिने रोग, जसलाई हामी चलनचल्तीको भाषामा मुसा भन्छौं, त्यो पनि यौन सम्पर्कका माध्यमबाट सर्ने रोग हो । फङ्गल इन्फेक्सन पनि यौन माध्यमबाट सर्छ । तर, यो यौन रोगमा पर्दैन । मानिसको गुप्ताङ्गमा देखिने मुसा यौनरोग हो । गुप्ताङ्गमा मुसा आएको व्यक्तिले यौनसम्पर्क गर्छ भने अर्को व्यक्तिमा रोग सर्छ ।

कतिपयको हात र खुट्टाहरुमा देखिने मुसा यौनरोग होइनन् । यौनरोगका रुपमा परिचित मुसा भने स–सानो गिर्खाजस्तो देखिन्छ । अक्सर पुरुषहरुको यौनांगमा मुसा हुन्छ भने महिलाको योनी वा वरपर यस्ता मुसा देखिन्छन् । नेपालमा व्याप्त रहेको अर्को यौनरोग सिफिलिस हो । यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ । प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ । सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउजस्तो देखापर्छ ।

केही दिनमा कतिपयको आफैँ निको भएर जान्छ भने कतिपयले एन्टिबायोटिक औषधि खाए पुग्छ । पुरुषका कारणले महिलामा पनि भिरिङ्गी सर्छ । उनीहरुको यौनांग वरपर घाउ देखिन्छ । प्रारम्भिक चरणमा आए एक दिनको एन्टिबायोटिक वा इन्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ ।

भिरिङ्गीको सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ । उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुहरुमा सर्न सक्छ । तर, तुलनात्मक रुपमा पुरुषहरुलाई भने समस्या हुँदैन । यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम निकै उच्च हुन्छ । घाउ नै छभने जोखिम ज्यादा हुन्छ । यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुनसक्छ । यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ ।

कतिपयको यौनांग अति गन्हाउने हुन्छ । सिफिलिसमा घाउ नै हुन्छ भने गोनेरियामा घाउ नदेखिने तर सेतो पानी बगिरहने हुनसक्छ । महिलामा यो रोगको संक्रमण अन्य अंगसम्म फैलने जोखिम रहन्छ । गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ । नवजात शिशुलाई गोनेरिया सर्यो भने आँखामा समस्या आउने हुनसक्छ । जेनाइटल हर्पिज पनि अर्को यौनरोग हो । यसका धेरै प्रकार र लक्षण छन् । केहीको ओठमा पनि यसका लक्षण निस्कन सक्छ, जसलाई हामी ‘जुठो खटिरा’ भन्छौं । हर्पिज रोस्टर अर्को प्रकारको यौनरोग हो । शरीरको एक भागमा फोकाहरु निस्किएर पीडा हुन्छ, जसलाई हामी जनै खटिरा भनेर बुझ्छौँ ।

कतिपयलाई लिंगमा फोका र पानीफोका निस्कने र पोल्ने गर्छ । यो जेनाइटल वार्ट भने मुसाहरु हुन् । जुन सामान्य मानिसमा लामो समय रहने मुसाभन्दा केही फरक खालका हुन्छन् । कसैलाई घाउ, चोट छभने शारीरिक सम्पर्कका बेला निस्कने यौनरसबाट यस्ता रोगहरु सर्छन् । यौनसम्पर्कका क्रममा योनी र लिंगका भाग घर्षण हुँदा यौनरसमा रहने जीवाणूहरु एकजनाबाट अर्कोमा सहजै पुग्छन् । पानीफोका फुट्दा वा रस निस्कदा पनि जीवाणूहरु स्थानान्तरण हुन्छन् । यस्ता यौनरोगहरु पुरुषबाट महिलामा सहजै सर्छन् । यौनसम्पर्कका क्रममा महिलाको यौनांगबाट पनि रसहरु निस्कने भएकाले जीवाणूहरु संसर्गका क्रममा पुरुषको यौनांगमा पुग्छन् ।

यस्ता रोगबाट जोगिने उपयुक्त उपाय नै सुरक्षित यौन सम्पर्क हो । सम्भव भएसम्म एकजना यौन साथीबाहेक अरुसँग संसर्ग नगर्नु उपयुक्त हो । रोग लागिसकेको छभने दुई जनामध्ये एउटाले मात्रै उपचार गरेर पुग्दैन । पति–पत्नीमध्ये कसैमा यो रोग लागिसकेको छभने निको नहुन्जेल शारीरिक सम्पर्क नगर्नु राम्रो हो । प्रायः हामीकहाँ उपचारमा आउने महिलाहरुमा श्रीमानका कारण रोग लाग्ने गरेको बढी भेटिएको छ । घुमफिरका क्रममा बाहिरबाट रोगको संक्रमण बोकेर आउने अनि उनीहरुबाट रोग सरेर पत्नीहरु पीडित भएका घटना धेरै छन् । यदि कुनै पति–पत्नी आफूहरु बाहेक अन्यत्र शारीरिक सम्पर्क गर्दैनन् भने उनीहरुमा यस्ता रोग लाग्ने सम्भावना निकै कम हुन्छ ।

बरु एचआइभी रगत, सिरिञ्ज लगायतका अन्य क्रियाकलापका कारण सर्न सक्ला तर एड्स बाहेकका अन्य यौनरोग अरु माध्यमबाट सर्दैनन् । यस्ता यौनरोग लागेका व्यक्तिले निको नहुन्जेल कन्डम प्रयोग गरेर शारीरिक सम्पर्क गर्न मिल्छ वा मिल्दैन भनी सोध्ने गर्छन् । पक्कै मिल्छ, तर सर्ने जोखिम भने केही मात्रामा रहिरहन्छ । यौन सम्पर्कका क्रममा हुने चुम्बनबाट पनि रोग सर्ने खतरा हुन्छ । यस्ता यौनरोग लागेका दम्पतीले मुखमैथुन लगायतका क्रियाकलाप गरेमा पनि रोग सर्ने सम्भावना रहन्छ ।

कसैको मुखमा जुठो खटिरा छभने मुखमैथुनका कारण अर्को यौनसाथीको यौनांगमा जेनाइटल हर्पिस अर्थात् मुसा देखा पर्न सक्छ । समाजमा लाज र संकोच हुने भएकाले यस्ता रोगबाट कुन खालका वर्ग बढी प्रताडीत छन् भनी सहजै पत्ता लगाउन कठिन हुन्छ । कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपय आफ्नो अनुकूलको डाक्टरलाई देखाउँछन् । पुरुषहरु पुरुष र महिलाहरु महिला डाक्टर कहाँ जान्छन् । त्यसले यौनरोगबाट महिला या पुरुष को बढी प्रभावित छन् भनी सहजै भन्न सकिँदैन । अन्त्यमा भन्नुपर्दा, स्थायी यौन साथीसँग मात्रै शारीरिक सम्पर्क गर्ने र सुरक्षाको उपाय अवलम्बन गरेमा यस्ता यौनरोगको जोखिम निकै कम हुन्छ ।

 

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस