२०८१ असार ५ गते मङ्गलवार | 2024 June 18th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चालक नै गाउँपालिका अध्यक्षको घरमा विस्फोट गराउने योजनाकार

रूपन्देही । रूपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थनेश्वर घिमिरेको घरमा विष्फोटक पदार्थ राखेको आरोपमा चालकसहित तीनजना पक्राउ परेका छन् ।

रूपन्देही प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देही कोटहीमाई गाउँपालिका-४ का २४ वर्षीय सुरज थारु, सियारी गाउँपालिका-४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन र कोटहीमाई गाउँपालिका- ३ बस्ने २२ वर्षीय सुरज लोहार रहेको रुपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विश्वकर्माले बताउनुभयो । प्रहरीका अनुसार चालक थारुले अध्यक्ष कहाँ के गर्न जाने सबै सूचना दिन्थे ।

सियारीका अध्यक्ष थानेश्वर घिमिरेले हजुरबुबादेखिको सम्बन्ध लामो समयदेखि आफ्नो गाडीका चालककै संलग्नता थाहा पाएपछि कसलाई विश्वास गर्ने भन्ने संकट परेको बताउँनुहुन्छ ।

वैशाख १ गते अध्यक्ष घिमिरेको घरपछाडिको पर्खालनजिकै विष्फोटक पदार्थ भेटिएको थियो । जसलाई नेपाली सेनाले डिस्पोज गर्‍यो । असार १ गते बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का भैरवप्रसाद कलवारको शिवम् ईम्पेक्सको (दाना फ्याक्ट्री गोदाम) कम्पाउण्डमा पर्खालबाहिर प्रेसर कुकर बम विष्फोट भएको थियो ।

सोही दिन मायादेवी गाउँपालिका–८ सिटी हस्पिटल पछाडि जग्गामा प्रेस कुकर बम विस्फोट गराइएको थियो । यी सबै घटनामा तीनैजना संलग्न देखिएको प्रहरीले बताएको छ । संगठितरूपमा नै उनीहरूले अन्यसँग मिलेर फिरौती रकम माग गर्न विस्फोट गराएको एसपी विश्वकर्माले बताउनुभयो । घटनामा अन्य केहीको पनि संलग्नता पाइएकोले खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेकाबाट ५ थान मोबाइल र २ वटा मोटरसाइकल बरामद गरेको छ । उनीहरुमाथि विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले श्रृंखलावद्ध विस्फोटमा संलग्न पक्राउ पर्नु रुपन्देही प्रहरीको ठूलो सफलता भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस