२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

प्रहरीले एकै पटक ६ हजार २ सय ६८ थान हातहतियार किन नष्ट गर्यो ?

काठमाडौं । विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६ हजार १ सय ८९ थान, विभिन्न प्रकारका पेस्तोल ६४ थान, म्याग्नम १ थान, एयर गन १ थान र नाम नखुलेको १३ थान गरी जम्मा ६ हजार २ सय ६८ थान हातहतियार मंगलबार कानून बमोजिम नष्ट गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानिलकण्ठ नगरपालिका-११ का वडाअध्यक्ष लगायतको रोहबरमा काठमाडौं महानगरपालिका-११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८९३० बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको छ ।

उक्त हातहतियारहरू दीर्घकालीन व्यवस्थापन गर्नको लागि हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्रद्वारा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ १८ गतेको बैठकमा कानूनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस