२०८१ साउन ३ गते बिहिवार | 2024 July 18th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पार्टी एकताका लागि ठोस पहल हुँदै छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि छलफल भइरहेको बताउनुभएको छ ।

शनिबार पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै उहाँले पार्टी एकताका लागि ठोस पहल गरिने पनि स्पष्ट पार्नुभयो ।

“माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ । त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो।” उहाँले भन्नुभयो, “हामी भित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन । यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ । त्यसका लागि नयाँ ढंगले सोच्दै छौँ । हामीसँग इतिहासको तागत छ । जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत छ र यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ ।”

आफ्नो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको भन्दै उहाँले समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने बताउनुभयो ।

“पूर्वमाओवादीहरू पनि छलफलमा छौँ । फेरि पार्टी एकताको आधार निर्माण हुँदै छ । पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ,” उहाँले भन्नुभयो, “हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ ।”

 

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस